• १३ साउन २०८१, आइतबार

सदरमुकामबाट बसाइँसराइ गर्ने बढे

blog

बैतडी समाचारदाता 

बैतडी, चैत २५ गते । दशरथ चन्द नगरपालिका स्थापना भएको २७ वर्ष पूरा भएको छ । यो अवधिमा यहाँबाट बसाइँसराइ गरेर जाने बढेपछि यस नगरपालिकाको अधिकांश गाउँबस्ती सुनसान बनेका छन् ।  

जिल्ला सदरमुकामसमेत रहेको दशरथ नगरपालिका तत्कालीन छ वटा गाविस समेटेर २०५३ सालमा बनाइएको हो । यहाँको करिब २० हजार जनसङ्ख्या समेटेर घोषणा गरिएको थियो ।

सदरमुकाम भए पनि बसाइँसराइ गरी आउनेभन्दा जाने बढी देखिएको छ । नगरपालिकाको बजार क्षेत्र, शैक्षिक संस्था र गाउँको जनसङ्ख्या घट्दै गएको बताइएको छ । 

नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेख अनुसार गएको पाँच वर्षमा ४८३ परिवारले बसाइँसराइको प्रमाणपत्र लिएका छन् ।     

यो नगरपालिकाको देवलहाट, पल्लाचौडाली, बस्कोट, धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, आइत, रेसेरागाउँ, भटाला, झाका, बुड्डा, खडेनीलगायतका गाउँबाट बाक्लो बसाइँसराइ देखिएको छ । 

यहाँको ७५ हजार १०४ रोपनी जग्गा बाँझो रहेको छ । ढोकामा ताल्चा लगाएर छाडिएका घर वरिपरि सिस्नो र वनमाराको झाडी पलाएको छ । गाउँमा भेटिने दुई÷चार जना पाका मानिस उदास देखिन्छन् ।

भारतीय सीमा क्षेत्र झुलाघाट नाका नजिकै भए पनि व्यापार व्यवसाय चलायमान हुन सकेको छैन । सदरमुकामका अधिकांश होटल बन्द भएका छन् । 

गाउँ रित्तिएपछि मानिसको आवतजावत घट्दा बजार क्षेत्रमा न्यून उपस्थित देखिन्छ । दशरथ चन्द नगरपालिका–४ का होटल सञ्चालक श्याम खत्रीले होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको सुनाउनुभयो ।    

राष्ट्रिय जनगणना २०६८ अनुसार दशरथ चन्द नगरपालिकाको जनसङ्ख्या ३४ हजार ५७५ थियो । २०७३ सालमा स्थानीय तहको पुनर्संरचना हुँदा साबिकका गुरुखोला, देहिमाण्डौ, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविस समावेश गरिएका थिए । 

१८ हजार जनसङख्या थपिँदा ५२ हजार ५७५ जनसङ्ख्या पुग्नुपर्नेमा २०७८ को जनगणना हुँदा यहाँको जनसख्या ३१ हजार ५६७ मा झरेको छ । उक्त तथ्याङ्क हेर्दा दशरथ चन्द नगरपालिकाले २७ वर्षमा २० हजार जनसङ्ख्या गुमाएको देखिन्छ । 

पछिल्लो समय दशरथ चन्द नगरपालिकाको जनसङ्ख्या डरलाग्दो किसिमले रित्तिन थालेको जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक डा. सुरेन्द्र बमले बताउनुभयो ।

जनसङ्ख्या घट्दा त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा परेको उहाँले बताउनुभयो । अङ्ग्रेजी, गणित र नेपाली विषयको पढाइ हुने सो क्याम्पसमा पाँच वर्षको अवधिमा ६० प्रतिशत विद्यार्थी घटेका छन् । 

पाँच वर्षअघि छ सय विद्यार्थी अध्ययन गर्ने जगन्नाथ बहुमुखी क्याम्पसमा अहिले २४० जना मात्रै विद्यार्थी छन् । बसाइँसराइले विद्यार्थीको सङ्ख्या आधाभन्दा बढी घटेको छ । 

राज्यले पूर्वाधारमा गरेको खर्च अनुसार संरचना उपभोग गर्ने मानिस नरहेको वीरेन्द्र मावि बैतडीका प्राचार्य कैलाश कनौजियाले बताउनुभयो । उहाँले बसाइँसराइ रोक्न नसक्ने हो भने सरकारले लगानी बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।