• १३ साउन २०८१, आइतबार

बझाङ (क) मा १२ दलको उम्मेदवारी दर्ता

blog

मनोनयन दर्ता गराउँदै उम्मेदवारहरु ।

शैलेन्द्र रोकाया 

बझाङ, चैत २४ गते । आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा बझाङ जिल्ला प्रदेशको (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नारा जुलुससहित १२ दलले प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । 

नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेकपा (माओबादी केन्द्र) बाट जनक बुढा र नेकपा (एकीकृत समाजबादी) पार्टीबाट दिलबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् । 

त्यस्तै, राप्रपाबाट किशोर खड्का, जनता समाजबादी पार्टीबाट रामबहादुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक पार्टीबाट कमल धर्ती मगर, राष्ट्रिय मातृभूमी पार्टीबाट बिनोदबहादुर थापा, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट दिपक खड्का, जनमत पार्टीबाट शुसिलादेबी बिष्टले र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको सूचना अधिकारी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको गत असार ५ गते घनगढीबाट बझाङ आउँदा सवारी दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन क्षेत्र रिक्त रहेको थियो । 

कांग्रेसले स्वर्गीय आन्तरिक मामिला तथा कानुनमन्त्रीका छोरा अभिशेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । यो पटकको उपनिर्वाचन भने अलि रोचक हुने आशंका गरिएको छ । जिल्लामा राम्रो प्रभाब राख्ने स्वर्गीय पृथ्बीबहादुर सिंहका छोरा अभिशेक सिंह युवाहरुबिचमा लोकप्रिय रहेको काँग्रेसको बुझाइ छ ।


एमालेका जिल्ला अध्यक्ष समेत रहेका दमन भण्डारी समेत एमालेको यो क्षेत्रमा संगठन राम्रो भएका कारण बाजी मार्ने दाउमा हुनुहुन्छ । त्यस्तै संबिधानसभा सदस्य तथा माओवादी नेता जनक बुढा समेत जिल्लाका प्रभाबशाली नेता हुन माओबादीको संगठन कमजोर भएपछि ब्यवहारिक मत पाउने आशामा छन् । 

एमालेका पूर्व पार्टी अध्यक्ष समेत रहेका एमालेका दिलबहादुर सिंह समेत आफुले चुनाव जित्ने दाउमा छन् । गत निर्वाचनमा पृथ्बीबहादुर सिंहले १७ हजार ११२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाउनुभएको थियो । 

निर्वाचनमा एक्लाएक्लै भिड्दा गठबन्धनको मत बिभाजन हुने देखिन्छ । उता एमालेको केही मत समेत समाजबादीका नेता दिलबहादुर सिंहले घटाउन सक्ने अनुमान गरिएको छ । 

कांग्रेसका उम्मेदवार अभिशेक सिंहले बुवाले बझाङको बिकासका लागि देख्नुभएको सपनाहरु अधुरै रहेकाले त्यसलाई पूरा गर्न पनि आफूले जित्नुपर्ने बताउनुभयो । 

एमालेका उम्मेदवार दमन भण्डारीले गत निर्वाचनको मतलाई मात्र सुरक्षित राख्न सकेमा आफ्नो बिजय सुनिश्चिीत रहेको बताउनुभयो । उहाँले बझाङको समृद्धि र बिकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

त्यस्तै, माओबादी केन्द्रका उम्मेदवार जनक बुढाले आफुले संबिधान सभाको सदस्य भएका बखत समेत केही काम गरेकाले अहिले जनताबाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत समाजबादीका पार्टी उम्मेदवार दिन बहादुर सिंहले जिल्लाको बिकास र शुसासनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । त्यस्तै, राप्रपाका उम्मेदवार तथा पर्यटन ब्यवसायी किशोर खड्काले जिल्लाको पर्यटन क्षेत्रको बिकासका लागि केही काम गरेकाले मत आउने बताउनुभयो ।