• १३ साउन २०८१, आइतबार

सरकारी विद्यालयमा पढाउन गाउँपालिकाको आह्वान

blog

शिवराज ढुङ्गाना 

अछाम, चैत २३ गते। सार्वजनिक पद धारण गरेका तुर्माखाँद गाउँपालिकाका बासिन्दाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको छ। गाउँपालिकाले एक सूचना प्रकाशित गरेर आउँदो शैक्षिक सत्रबाट सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको हो। 

सूचना अनुसार तुर्माखाँद गाउँपालिकावासी जनप्रतिनिधि, कर्मचारी, शिक्षक र सरकारका विभिन्न समितिमा रहेका व्यक्तिका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ। 

सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सबैका बालबालिकालाई सामुदायिक विद्यालयमै अध्यापन गराउने अभियान थालिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिनुभयो। 

गएको मङ्सिर दोस्राे साता गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय अगुवाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानले सरकारी विद्यालयमै पढाउन पर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। 

गएको पुस १२ गतेको तुर्माखाँद गाउँपालिका बैठकले सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थियो। 

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिका सरकारी विद्यालयमा पढाउनुपर्ने तुर्माखाँद गाउँपालिकाले गरेको निर्णय सही भए पनि कार्यान्वयनमा धेरैको आशङ्का छ।