अमरराज नहर्की
तनहुँ, चैत २३ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेपछि वैकल्पिक मार्गबाट यातायात सुचारु गरिएको छ । शुक्रबार बिहान ११ः३० बजे पृथ्वी राजमार्ग सडक विस्तारको क्रममा सडकको करिब ७२ मिटर माथिबाट जमिन चिरा परेकाले वैकल्पिक मार्ग प्रयोग गरी शुक्रबार दिउँसोबाट यातायात सुचारु गरिएको हो ।
जमिन चिरा परेकाले जुनसुकै बेला पनि पहिरो खस्ने भएकोले वैकल्पिक मार्गबाट प्रयोग गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिनुभयो । ढुङ्गा माटो झरिरहेकोले मुग्लिन पोखरा सडक योजना पूर्वी सडक खण्डसँग समन्वय गरी सबै सवारीसाधन तालघरेबाट रानीगाउँ हुदै घासीकुँवा निस्कने भित्री सडक खण्ड प्रयोग गरिएको बोहोराले बताउनुभयो ।
वैकल्पिक मार्गबाट यातयात सुचारु भए पनि पहिरो खसेपछि अलपत्र परेका यात्रु आ-आफ्नो गन्तव्यमा लागेका छन् ।