अमरराज नहर्की
तनहुँ, चैत २३ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । यसअघि चैत १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेबल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो ।
सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीनतले भवन निर्माण गरिएको सो भवनको चैत २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख केशवराज काफ्लेले गोरखापत्रलाई बताउनुभयो ।