• १३ साउन २०८१, आइतबार

परीक्षाफल नआउँदै पाठ्यपुस्तक विद्यालयमा

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत २३ गते । वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीले परीक्षाफल प्रकाशन गर्नुअगावै पाठ्यपुस्तक पाउने भएका छन् । गत वर्ष नयाँ भर्ना गरेको छ महिना हुँदासम्म पाठ्यपुस्तक नपाएका विद्यार्थीले यस पटक छिट्टै पाउने भएका हुन् । 

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेको छ । स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पुर्‍याइसकेका छन् । विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । बाजुरा जस्तो दुर्गम जिल्लालाई यस वर्ष भने पहिलो प्राथमिकतामा राखिएको बताइएको छ । 

धुरालसैन माविका छात्र जीवन शाहीले यो वर्ष विद्यालयमा भर्ना हुनुअगावै हातमा किताब पाउने अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष शिक्षकहरूले समयमै विद्यालयमा किताब आउने भनेपछि खुसी लागेको छ ।” विद्यालयले परीक्षाफल प्रकाशन गर्नुअगावै यो वर्ष पुस्तक विक्रेताले किताब लिन बोलाएको बुढीगङ्गा नगरपालिका–१, धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले बताउनुभयो । पुस्तक विक्रेताले किताब पुगेको खबर गरेकाले यो वर्ष भर्नाकै दिन विद्यार्थीको हातमा किताब थमाइदिने योजना रहेको उहाँले बताउनुभयो ।

गत वर्ष जनक शिक्षाले नै किताब छपाइमा ढिलाइ गरेका कारण समयमै किताब उपलब्ध गराउन नसकिएको बाजुराका पुस्तक विक्रेताले बताएका छन् । जनक शिक्षाले समयमै किताब उपलब्ध गराएपछि विद्यालयलाई वितरण गर्न लागेको प्रवीण एन्ड ललित स्टेसनरी बाम्का बजारका पुस्तक विक्रेता टेकबहादुर थापाले बताउनुभयो । त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकाको विद्यालयका लागि सात हजारभन्दा बढी सेट किताब ल्याएर पसलमा राखिएको छ । हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका त्रिवेणी र बुढीगङ्गालगायतका पालिकामा २३७ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।