• १३ साउन २०८१, आइतबार

फेरियो मार्तडी बजारको रूप

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत २३ गते । जिल्ला सदरमुकाम मार्तडीस्थित मार्तडी बजारको रूप फेरिएको छ । बडीमालिका नगरपालिकाले मार्तडीमा रहेका पुराना संरचनना भत्काई नयाँ निर्माण गरेसँगै बजारको रूप फेरिएको हो ।

बिचबाटोमा अलपत्र परेको खानेपानीका पाइप, सडक तथा सडक पेटीलगायतका संरचना व्यवस्थित गरेसँगै बजारको मुहार फेरिएको बडीमालिका नगरपालिका–८ का स्थानीय रामबहादुर बोहोराले बताउनुभयो । “सरकारी कामकाजका लागि सदरमुकाम मार्तडी आउने सेवाग्राहीलाई बास बस्न समस्या थियो, पछिल्लो समयमा भने सुविधासम्पन्न होटल तथा लज निर्माण गरिएका छन्,” उहाँले भन्नुभयो । सडक, स्वास्थ्य, शिक्षा र खानेपानीको सुविधासँगै बाजुराको अन्य ठाउँबाट बसाइँ सरेर मार्तडी बजार आउनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बोहोराले बताउनुभयो । बुढीगङ्गा, त्रिवेणी, छेडेदह, बुढीनन्दा, गौमूललगायतका अधिकांश स्थानीयले पछिल्लो समय मार्तडी बजारमा बसोबास गर्न थालेका छन् । मार्तडी बजार वरिपरि रहेको खेतीयोग्य जमिन घरटहराले भरिएको छ । 

बाजुराका अन्य स्थानीय पालिकाबाट समेत विभिन्न पेसा, व्यवसाय गर्न मार्तडीमा बसोबास गर्न आउने लहर बढेको छ । यस जिल्लाको तल्लो क्षेत्र डाब, रिठा, बेलाल्माण्डौ, फालासैन, ताँप्री सेरा, बल्दे, आँटीचौरलगायत क्षेत्रमा बजार भए पनि गौमूल, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, हिमालीलगायतका क्षेत्रका स्थानीयको मुख्य बजार मार्तडी हो । 

सदरमुकामसमेत रहेको मार्तडी बजारको मुहार फेर्न स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, पुललगायत भौतिक पूर्वाधारका संरचनालाई विशेष जोड दिँदै आएको बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना भौतिक संरचनाका कारण चमत्कारै ल्याउन नसके पनि मार्तडी बजारलाई सुविधासम्पन्न सहरका रूपमा विकास गरिएको छ । भूकम्प प्रतिरोधक नयाँ भवन निर्माण गरिएका छन् । सडक सफा र स्वास्थ्य, शिक्षा, खानेपानी, बत्तीलगायतका सुविधा विस्तार गरिएको छ ।”