• ९ मंसिर २०८१, आइतबार

म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै

blog

गलेश्वर (म्याग्दी), चैत २२ गते । म्याग्दीमा चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र-आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।

यसै क्रममा आज पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ उपल्लो दरबाङको जनप्रिय टोलबाट शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्र भइरहेको छ । त्यसैगरी बुधबार बेनी नगरपालिका-४ सिङ्गाको पौडेलचोकबाट वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्र गरिएको थियो । दरबाङको सडक कालोपत्र गर्ने ठेक्का लिएको सक्षम ब्रदर्स निर्माण कम्पनीले आजदेखि कालोपत्रको काम सुरु गरेको कम्पनीका सञ्चालक मनोज कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नालीसहित छ सय मिटर सडक कालोपत्र गर्न कम्पनीले भ्याटबाहेक ५० लाखमा जिम्मा लिएको हो । जिल्लाका अन्य ठाउँका सडक पनि कालोपत्र भइरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार र चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० योजना रहेकामा ११ योजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चार ठेक्का मूल्याङ्कनको चरणमा रहेका छन् । सालबसाली २३ योजनाको ठेक्का र १३ उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सात वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार योजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना चालु रहेका छन् ।

चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख बजेट विनियोजन गरिएको कार्यालयले फागुन मसान्तसम्म आठ करोड ९३ लाख ४३ हजार अर्थात् १२ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ । गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ किमी दुई सय ७५ मिटर सडक निर्माण भएको थियो । यस वर्ष पाँच दशमलव छ किलोमिटर दूरीको गलेश्वर-पिपले-भगवती सडक कालोपत्र र दरवाङ-धारापानी सडकको छ किलोमिटर छ सय मिटर ग्राभेल सकिएको छ । 

बेनी-दरवाङ सडकको सिम-लाम्पाटा खण्ड र लाम्पाटा-ढाडखर्क खण्डमा करिब नौ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ । २० करोड लागत अनुमान गरिएको बेनी-पाखापानी, २५ करोड लागत अनुमान गरिएको धारापानी-ताकम-शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ । बेनी-भकिम्ली, अदिभारा-डाडागाउँ र पखेर-बरंजा सडक स्तरोन्नतिका लागि १०-१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान गरिएको छ । रासस