• ९ मंसिर २०८१, आइतबार

एमाले स्याङ्जा अधिवेशनको तयारी पूरा

blog

एमाले स्याङ्जाको अधिवेशन तयारीबारे जानकारी गराइँदै ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत २२ गते । नेकपा (एमाले) स्याङ्जाको शुक्रबारबाट सुरु हुने नवौँ  जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको सम्मेलन प्रचारप्रसार कमिटीले बिहीबार पुतलीबजार नगरपालिका–१ मा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको बताएको हो ।

समितिका संयोजक विश्व पौडेलले अधिवेशनमा प्रतिनिधि छनौट, बसोबास, मञ्च निर्माण लगायतका सबै काम पूरा भएको बताउनुभयो । दुई दिने अधिवेशनमा जिल्लका ११ पालिकाका ६०९ जना प्रतिनिधि सहभागी रहने पौडेलले अधिवेशनले १०५ सदस्यीय जिल्ला समिति चयन गर्ने बताउनुभयो । पार्टी अध्यक्ष सूर्यप्रसाद गैरेले सके सहमतिबाट नेतृत्व चयन हुने नसके स्वच्छ प्रतिस्पर्धाबाट हुने बताउनुभयो । 

तीन प्रतिनिधिमा एक जना महिला र ११ प्रतिशत उत्पीडित प्रतिनिधि छनौट भएको बताउँदै गैरेले १५ प्रतिशत युवा रहेको बताउनुभयो । उहाँले पाँच पदाधिकारीसहित क्लष्टरअनुसार जिल्ला कमिटी निर्वाचन हुने र युवा १५ प्रतिशत रहने बताउनुभयो । 

उहाँले अधिवेशनमा २० लाख खर्च हुने बताउँदै खर्च, लेबी, नौ हजार ५४३ जना पार्टी सदस्यबाट ५०–५० रुपियाँ, पालिकाबाट आउने प्रतिनिधिबाट एक हजार, आयोजक कमिटीबाट दुई हजार पाँचसय व्यवस्था गरेको बताउनुभयो । 

एमाले पीबीएम तथा जिल्ला इन्चार्ज टुकराज सिग्देलले अधिवेशन नियमित र पार्टी सुदृढ गराउन गरिएको बताउनुभयो । आन्तरिक प्रतिस्पर्धालाई नरोकेको बताउँदै सिग्देलले गुटगट प्रतिस्पर्धा भने बन्देज लगाएको बताउनुभयो । अधिवेशनको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ ।