यदुप्रसाद भट्ट
मनाङ, चैत २२ गते । सोलुखुम्बुको याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका ९ वटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरू राम्ररी फस्टाउन नसके । आकारमा साना भएका कारण मनाङका ठुला याकसँगै राख्न पनि समस्या भएको मनाङ याकचौंरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताउनुभयो ।
थकालीले भन्नुभयो, ‘भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरूलाई जोगाउन पनि समस्या भएको छ ।’
आकारमा साना भएकाले ठुला याकले हानेर मारिदिने डर कायमै रहेको उहाँले बताउनुभयो । अध्यक्ष थकालीले माथि जाने बेला नभएको भन्दै जहाँ वितरण गरिएको थियो, त्यहीँ नै हाल ती याक रहेको जानकारी दिनुभयो ।
नार्पाभूमिका लागि छुट्याइएका याक हालसम्म पनि सो पालिकाले नलैजाँदालाई महिनाको ३० हजार खर्च गरी ब्याडको रूपमा पालेको थकालीको भनाइ थियो । पुस १९ गते सोलुखुम्बुबाट मनाङ हिँडाइएका ९ वटा याक मनाङ आइपुगेको थिए । ती ९ वटा याक मनाङका किसानलाई वितरण गरिएको थियो ।
वितरितमध्ये मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङको समूहलाई एउटा, भ्राकामा रहेको तीनवटा गोठलाई एउटा तथा नासो गाउँपालिकाका तीन वटा समूहलाई एउटाको दरले गरी तीनवटा वितरण गरिएको थियो । चामे गाउँपालिकामा एउटा समूहलाई र एउटा तीन गोठको समूहलाई वितरण गरिएको छ । बाँकी दुईवटा याक मनाङ याकचौंरी पालन तथा संरक्षण संस्थामा हेरालुको व्यवस्था गरेर राखिएको छ ।
चारवटा पालिका रहेको मनाङमा हरेक पालिकालाई २ वटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा रहेको र सो पालिकाकाको कोही पनि व्यक्ति सम्पर्कमा नआएकाले त्यहाँ वितरण गर्ने भनिएका याक संस्थामै राखिएको थियो । २५ प्रतिशत किसानले बेहोर्नुपर्ने गरी वितरण गरिएका सबै याकको बिमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्तमा किसानलाई वितरण गरिएको थकालीको भनाइ छ ।
गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । हाडनाता प्रजननले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको हो । सरकारी मूल्यअनुसार २० देखि २५ हजारमा ती याक किनिएको निर्देशनालयले जनाएको छ ।