• १३ साउन २०८१, आइतबार

रैथाने प्याजको प्रमाणीकरण

blog

बैतडी समाचारदाता

बैतडी, चैत २२ गते । घरायसी उपभोगका लागि प्रयोग हुने बैतडी जिल्लाको रैथाने प्याजलाई राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (नार्क) ले प्रमाणीकरण गरेको छ । ठुलो गाना, सेतो र हरियो धर्सा भएको रैथाने प्याजलाई ‘बैतडी स्थानीय प्याज’ नाम दिइएको छ ।

नार्कले बैतडीको प्याजलाई मान्यता दिएसँगै दशरथ चन्द नगरपालिका–२, थलालगाउँका महिला किसानले बिउका लागि सामूहिक प्याज खेती नै सुरु गरेका छन् । २४ रोपनीमा सामूहिक प्याज खेती गरेर बिउ उत्पादन सुरु गरिएको छ ।  त्यस्तै जिल्लाबाहिर र भित्र प्याजको बिउ बिक्री गरेर थलालगाउँका महिला किसानले २० लाख रुपियाँ भित्र्याएका छन् । बैतडीको प्याजको बिउ प्रतिकिलो पाँचदेखि छ हजार रुपियाँसम्म बिक्री हुन थालेको छ ।

रैथाने प्याज आयातित प्याजभन्दा ठुलो गाना, सेतो र हरियो धर्सा भएको रसिलो गुण भएको पाइएको छ । प्याजलाई नेपालभर विस्तार गर्न सके यसबाट मनग्गे फाइदा हुने नार्कका बालीविज्ञ डा. मुकुन्द भट्टराईले बताउनुभयो ।

प्याजको गाना र बिउबाट दोब्बर फाइदा हुने भएकाले स्थानीय जातकै प्याज खेती सुरु गरिएको अगुवा किसान सीता भण्डारी थलालले बताउनुभयो । सामूहिक प्याज खेती गर्न कृषि क्षेत्रमा काम गर्दै आइरहेका गैरसरकारी संस्था रुडेस र अक्सफाम नेपालले सहयोग गरेको छ ।

बैतडीको प्याज सुक्खा सहन सक्ने जलवायु अनुकूलन बाली रहेको सहयोगी संस्था रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । महिला किसानलाई १२ क्विन्टल रैथाने प्याजको गाना र प्रविधि सहयोग गर्दा करिब २० लाख रुपियाँको बिउ उत्पादन भएको बताइएको छ । 

थलालगाउँका महिलालाई सामूहिक प्याज खेतीमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँमै कृषि प्राविधिक बोलाएर सहयोग गरिएको रुडेसका कार्यक्रम अधिकृत अशोक चन्दले बताउनुभयो ।

रैथाने प्याजबारे किसानलाई जानकारी दिएपछि भारतीय जातको नासिके प्याज भित्रिन कम भएको छ । नार्कले स्थानीय प्याजलाई प्रमाणीकरण गरी सबै क्षेत्रमा स्थानीय जातकै प्याज लगाउन सुझाव दिएको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताउनुभयो ।