• २८ वैशाख २०८२, आइतबार

राजधानीवासीलाई पोखरा भ्रमणको निम्तो

blog

काठमाडौँ, चैत २२ गते । नयाँ वर्षका अवसरमा ‘संस्कृति, पर्यटन र खाना’ भन्ने नारासहित पोखराको फेवाताल किनारमा फेवा नववर्ष महोत्सवको आयोजना हुने भएको छ । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९ देखि वैशाख १ सम्म १९ औँ संस्करणको महोत्सव आयोजना हुन लागेको हो । 

होटल सङ्घ नेपाल र पोखरा क्षेत्रीय होटल सङ्घले बुधबार राजधानीवासीलाई निम्ता दिन पत्रकार सम्मेलन गर्दै फेवाताल किनार ड्यामसाइड चोकदेखि हल्लन चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित फेवा नववर्ष महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।

नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत तथा रैथाने नेपाली खानाको प्रवर्धन गर्ने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पोखरा क्षेत्रीय होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत र रैथाने नेपाली खानाको प्रवर्धन गर्नु हो । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिने छ ।” पोखरालाई पर्यटनको राजधानी घोषणापछि पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न आतुर रहेको जनाउँदै उहाँले विगत १८ वर्षदेखि आयोजना हुँदै आएको महोत्सवमा यस पटक थप उत्साह थपेको बताउनुभयो ।

यसअघि कोमागाने पार्कमा महोत्सव आयोजना हुँदै आए पनि गत वर्षदेखि पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर सडकमा आयोजना गर्न थालिएको र महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टले आफ्ना भान्छा सडकमै राखेर परम्परागत र रैथाने स्वादलाई पस्किँदै आएको उहाँको भनाइ छ । महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा भएसँगै त्यहाँ पर्यटकको बसाइ लम्बाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।