• २७ पुस २०८१, शनिबार

पाँच महिना नबित्दै उप्कियो बेनी-गलेश्वर सडक कालोपत्र

blog

उप्किएको बेनी-गलेश्वर सडकखण्डको कालोपत्र । तस्बिर : साधन घर्ती/गोरखापत्र

साधन घर्ती 

म्याग्दी (दरबाङ), चैत २१ गते । उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत बेनी-गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ । 

कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भनाइ छ । 

सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्र गर्दा गुणस्तरहीन बनेको स्थानीयबासीको आरोप छ । कालोपत्र उप्किए पनि अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । ‘यो सडक कालोपत्र भएको ५-६ महिना नहुँदै उप्किन थालेको छ ।

"निर्माणको क्रममा सम्बन्धित निकाय र सरोकारवालाहरूको बेवास्ताका कारण कमसल सामग्री प्रयोग गरिएको हुन सक्छ," गलेश्वरका स्थानीय चक्रप्रसाद शेरचलले गुनासो गर्दै भन्नुभयो, "यस्तै लापरबाही दोहोर्‍याउन नदिन अब मर्मत गर्दा राम्रोसँग निगरानी गर्न आवश्यक छ ।" गत पुस महिनामा २४ महिनाको ठेक्का एक वर्षमै सकिएपछि निर्माण व्यवसायीको चौतर्फी प्रशंसा भएको थियो । भने अहिले कालोपत्र उप्किएपछि निर्माण व्यवसायीको अहिले चौतर्फी आलोचना र विरोध भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अहिले मर्मतको काम थालेको छ ।

सडक कालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । "निर्माणको क्रममा कतिपय ठाउँमा यस्तै कमीकमजोरी हुन्छन्," आयोजना प्रमुख झाले भन्नुभयो, "निर्माण व्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ ।"

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट/पीएससहित १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित सङ्घ संस्थाले समेत निर्माण व्यवसायीलाई सम्मान गरेका थिए ।

आठ मिटरको फराकिलो पारिएको सडक खण्डका खोल्साहरूमा कल्भट निर्माण गरिएको छ । दुई सय मिटर आरसिसी ढलान गरिएको छ । डिबिएसडी प्रविधिको कालोपत्र गरिएको छ । यो सडक हुँदै प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम, म्याग्दीको उत्तरी भेग सहित मुस्ताङ आवतजावत गरिन्छ ।