ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका लक्ष्मण बरुवालले पसलमा बिक्रीका लागि राखेको म्याद सकिएको मैदाको चार बोरा तीन महिनाअघि फेला परेको थियो ।
बरुवालले सो मैदाका बेरा तीन दिनअघि मात्र बेनीको एक व्यापारीबाट खरिद गरी लैजानु भएको थियो । मैदा मात्र होइन, उहाँका पसलमा पछिल्लो एक हप्तामा खरिद गरेका अन्य सामान पनि म्याद नाघेका भेटियो ।
बरुवालको पसलमा मात्र होइन, घारका अधिकांश पसलमा बेनीका होलसेल व्यवसायीले म्याद नाघेका सामग्री बिक्री गरेको पाइएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी बेनीका व्यवसायीले म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरू गाउँमा पठाउने गरेको यसअघि पनि फेला परेको थियो ।
घारमा मात्र होइन जिल्लाको अन्य ग्रामीण भेगमा पनि अनुगमनका क्रममा म्याद नाघेका वस्तु फेला परेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधिलगायतको टोलीले घार र खिवाङका १५ किराना पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले उपभोग्य मिति समाप्त भएका ७५ हजार रुपियाँ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ । पसलको अनुगमनका क्रममा म्याद नाघेको दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय बेनीका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘व्यवसायीले तीन दिनअघि खरिद गरेर ल्याएको भन्नुहुन्छ, तर तीन महिना अगावै सामानको उपभोग्य मिति नाघेको छ । तीन दिनअघि सामान खरिद गरेको हामीले बिल पनि भेटायौँ । बेनीका ठुला व्यवसायीले गाउँमा म्याद नाघेका सामान पठाउने गरेको यो बलियो प्रमाण हो ।’’
अनुगमनको क्रममा अत्यधिक मात्रामा म्याद नाघेका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको उहाँले बताउनुभयो । खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायतका खाद्य र पेय पदार्थका सामग्री म्याद नाघेको भेटिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
जफत गरिएका सामानहरू जिल्लास्थित सरोकारवालाको रोहवरमा नष्ट गरिने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले यसअघि समेत आफ्नो बजार क्षेत्रमा नियमित रूपमा बजार अनुगमन गर्दैआएको छ । यसअघिको अनुगमनका क्रममा व्यवसायीलाई सचेत गराइएको र कमजोरी सुधार नगरेका कारण पसलमा बिक्री वितरणका लागि राखिएका म्याद नाघेका खाद्य सामग्री जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
हामीले यसअघि सचेत गराएका थियौँ, तर व्यवसायीले उपभोक्ताको हितविपरित म्याद नाघेका सामान खुलमखुला बिक्री गर्ने काम नरोकेपछि छड्के अनुगमन गरेका हौँ, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, ‘‘बेनीमा रहेका ठुला होलसेल पसलेहरूले ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेका छन् । अटेर गरे कानुनी कारबाहीका लागि पनि गाउँपालिका अघि बढ्छ ।’’
अनुगमनको क्रममा व्यवसायीले बेनीका सप्लायर्सहरुले नै म्याद नाघेका र म्याद सकिन लागेका सामग्री पठाउने गरेको स्थानीय व्यवसायीले गुनासो गरेका थिए । घारका अधिकांश पसलले बेनीस्थित कालीपुलमा रहेको बिक्की बदर्शबाट सामान ल्याउने गरेको र सप्लायर्सबाट नै म्याद नाघेका सामान आउनेगरेको घारका व्यवसायी लक्ष्मण बरुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले सामान पठाइदिन भन्छौँ, बेनीका व्यवसायीले म्याद सकिएका सामान पठाउने गरेका रहेछन् । होलसेल व्यवसायीको विश्वासमा परियो । कुन सामानको कहिलेसम्म म्याद छ भनेर हामीले पनि हेर्ने गरेका छैनौँ ।’’
अनुगमनको क्रममा व्यवसायीमा सामान खरिद गर्दा अपनाउनुपर्ने सजगता नभएको र बेनीका सप्लायर्सले म्याद गुज्रिने समयका सामान गाउँतिर पठाउने गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख शर्माले जानकारी दिनुभयो । कार्यालयले स्थानीय तहसँग समन्वय र सहकार्य गरी बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।