• १४ पुस २०८१, आइतबार

बेनी नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री स्थानीय तह बनाइने

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २१ गते
। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकामा बालमैत्री स्थानीय तहका रुपमा ल्याउनका लागि बालमैत्री स्थानीय शासन कार्यक्रम सुरु गरिएको छ ।

बेनी नगरपालिकाले आयोजना गरेको बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरणपछि नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता जनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहुँच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको उहाँले बताउनुभयो ।

अभिमुखीकरणपछि जनप्रतिनिधि र सहभागीहरुले बेनी नगरपालिकालाई बालमैत्री बनाउन कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका परामर्शदाता रुपान्तरण नलेज हबका विनोद शर्माले बताउनुभयो । बालमैत्री शासनका लागि आवश्यक पर्ने पूर्वाधार तथा अन्य सबै तयारी गरेर नगरपालिकाले बालमैत्री शासन प्रणाली नगरपालिकामा लागू गर्ने उहाँको कथन थियो ।

बेनी नगरपालिकाका प्रमुख केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गर्न स्रोत व्यवस्थापन र कार्यक्रम तथा नीति बनाउने बताउनुभयो । देशका कर्णाधारलाई नगरपालिकाको हरेक क्षेत्रमा सहभागिता एवम् बालमैत्री शासनकै लागि हामी हरप्रहर प्रतिबद्ध रहेको भन्ने पनि यो कार्यक्रमको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उपप्रमुख ज्योती लामिछानेले सामाजिक परिचालन, संघसंस्थाको समन्वय गरेर बालमैत्री बनाउन बजेट व्यवस्थापन र कार्यक्रम तय गर्ने बताउनुभयो । आगामी दुई वर्षभित्र बेनी नगरपालिकालाई बालमैत्री बनाउने रणनीति तयार पारी कार्यान्वयन गरिने उप्रमुख लामिछानेले बताउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन कार्यक्रममा बजेट अभाव हुन नदिन समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, बाल क्लब र विद्यालयका प्रधानाध्यापक प्रतिनिधिहरुको सहभागिता थियो ।