• २३ वैशाख २०८१, आइतबार

फ्रेन्डसिप कप : नेपालको लगातार दोस्रो जित

blog

काठमाडौँ, चैत २० गते । एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा मङ्गलबार भएको खेलमा नेपालले बरोडालाई २७ रनले हरायो ।

जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो । नेपालले यसअघि पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले हराएको थियो । 

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । उहाँ म्यान अफ दि म्याच हुनुभयो । यस्तै सोमपाल कामी र अविनाश बोहोराले दुई दुई तथा गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाउनुभयो ।

यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन जोड्नुभयो । बलिङमा बरोडाका बाबा खानले दुई तथा परिक्सित पाटीदार र मोहित मोन्गाइले एक एक विकेट लिनुभयो । नेपालले अर्को खेल बुधबार गुजरातसँग खेल्नेछ ।