चाँदनी आचार्य
सुखड (कैलाली), चैत २० गते । बर्दिया जिल्लाको राजापुर नगरपालिका–३, का पार्वती थारूको घरवरिपरि रहेको दुई कट्ठा जमिनमा लौका, काँक्रा, करेलालगायतका तरकारी लटरम्म फलेको देखिन्छ । तरकारी खेती गर्नुपूर्व अधिकांश समय कर्णाली नदीमा माछा मारेर बिताउने पार्वती तरकारी खेतीतर्फ लागेपछि माछा मार्न छाडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला धेरै जसो माछा मार्न जान्थेँ । तालिम लिएपछि थाहा पाएँ, ओत नामको वन्यजन्तुको आहारा माछा रहेछ । तरकारी खेतीतर्फ लागेपछि माछा मार्ने फुर्सद नै भएन । अब माछा होइन, तरकारी खेतीलाई नै निरन्तरता दिन्छु ।”
सोही ठाउँका अर्की किसान दुखुनी थारूको दैनिकी ढकिया, हड्केस, चकटी बनाउनमै बित्छ । अधिकांश समय माछा मार्न कर्णाली नदीमा बिताउने दुखुनीले हस्तकलाबाट सामान बनाएर बिक्री गर्न थालेपछि मनग्गे आम्दानी हुन थालेको बताउनुभयो । दुखुनीले भन्नुभयो, “पहिला हप्तामा पाँच दिन माछा मार्न जान्थेँ । आफूले खाएर बचेको माछा बेच्ने गरिन्थ्यो । अहिले हस्तकलाका सामान बनाउन थालेपछि माछा मार्ने फुर्सदै हुँदैन ।”
गेरुवा गाउँपालिका–२ का भागीराम थारूको पुख्र्यौली पेसा कर्णाली नदीमा बालुवा छानेर सुन निकाल्ने र माछा मार्ने हो । पछिल्लो समय उहाँ सामुदायिक नदी सहव्यवस्थापन समूहमा आबद्ध भएर कर्णाली नदीको अनुगमनमा खटिनुभएको छ । पाँच जनाको समूहमा कर्णाली नदीमा भेटिएका भागीरामले दुर्लभ जनावर ओतको महत्व बुझेपछि कर्णाली नदी सरसफाइ र ओत रेखदेखमा कर्णाली नदीको अनुगमन गर्दै आएको बताउनुभयो ।
हातमा छाता र दूरबिन बोकेकाहरूको समूहमा २५ जना सदस्य छन् । उनीहरूले आलोपालो गरेर नदी अनुगमन गर्ने गरेको सो समूहका अर्का सदस्य कोपिला थारूले बताउनुभयो । आइयुसिएनको रातो सूचीमा परेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि कर्णाली नदीआसपासका स्थानीयको जीविकोपार्जन गर्ने शैलीमा परिवर्तन गर्न थालिएको छ । नदी आसपासका टीकापुर, राजापुर, लम्कीचुहा, भजनी, जानकी र गेरुवा गाउँपालिकामा बसोबास गर्ने नदीमा आश्रित ३७५ घरपरिवारलाई तरकारी खेती, हस्तकला उत्पादनलगायत आयआर्जनमुखी व्यवसायमा आबद्ध गरिएको छ ।
सन् २०२४ देखि ‘कर्णाली नदीमा ओत (उदुवा) संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजना’ समुदायस्तरमा सञ्चालन भइरहेको छ । यो परियोजनाले नदीमा आश्रित समुदायको जीविकोपार्जनमा सहयोगी भूमिका खेलेको गेरुवा गाउँपालिका–१ का वडाध्यक्ष कर्मप्रसाद चौधरीले बताउनुभयो ।
विश्व वन्यजन्तु कोषका प्रतिनिधि आशिष कपालीले विश्वमा १३ प्रजाति, एसियामा पाँच प्रजाति र नेपालमा तीन प्रजातिका ओत रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाइने भए पनि कर्णाली नदीमा खैरो ओत पाइने गरेको छ ।
संरक्षणकर्मी विजय श्रेष्ठले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न ओतको संरक्षणका लागि कर्णाली नदीमा माछा मार्ने कार्य, नदीजन्य पदार्थ उत्खनन, फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो ।