• २२ वैशाख २०८१, शनिबार

सांसदद्वारा खुल्ला कारागार नीतिको माग

blog

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दुरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा उहाँले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रामकुमार राईले देशभर ३२ हजारको सङ्ख्यामा  कैदीबन्दीहरु उल्लेख गर्दै खुल्ला कारागारको नीति ल्याएर सुधार गर्नुपर्ने धारणा राख्नुभयो । 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले विभिन्न घटनाका सम्बन्धमा गठित छानबिन समितिहरूले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै सरकारले लगानी गरेर बनाएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जनमत पार्टीका सांसद गोमा लाभ (सापकोटा)ले देशका अधिकांश कारागारको अवस्था नाजुक रहेको भन्दै सबै कारागारको अनुगमन गरी आवश्यकताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा नराख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले नेपालको विकास, आर्थिक अवस्था सुधार गर्न नोटबन्दी गरी नयाँ नोट प्रचलनमा ल्याउन आवश्यक रहेको बताउनुभयो । आम जनता पार्टीका सांसद प्रभु साहले हचुवाको भरमा सडक निर्माण गर्दा धेरै सडकको अवस्था दयनीय भएको र ठुलो बजेट सडकमा खर्च हुने तर निर्माण कहिले पनि सम्पन्न नहुने विषय भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले तराई मधेसमा शिक्षकको दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा राम्रो नसकेको भन्दै सरकारले उक्त विषयमा गम्भीररुपमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारी प्रतिवेदनअनुसार सवारी दुर्घटनाका कारण औसत आठ जनाको मृत्यु र ८६ जना घाइते भएको देखिएको हुँदा त्यसलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले देशमा पछिल्लो समयमा सवारी दुर्घटनाका घटना बढिरहेका हुँदा वैकल्पिक यातायात खोजी गरी यातायातलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका सांसद (एमाले) का दयालबहादुर शाहीले सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशमा आवतजातका लागि यात्रुहरूले अहिले पनि निकै सास्ती भोग्नुपरेको उल्लेख गर्दै पक्की सडक निर्माणका लागि आगामी आर्थिक वर्षका बजेटमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस