• १३ साउन २०८१, आइतबार

घोडाघोडी तालक्षेत्रमा रामसार जानकारी अद्यावधिक कार्य सुरु

blog

सन् २००३ मा रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत १९ गते । विश्व रामसार साइडमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालमा विज्ञहरुको समूहद्वारा रामसार जानकारी अद्यावधिक कार्य हुँदैछ ।

नेपाल सरकार राष्ट्रिय निकुञ्ज विभाग र ताल विभागले रामसार जानकारी अधावधिकका लागि विज्ञहरुको समूह रहेको संरक्षण विकास फाउन्डेसनलाई जिम्मा दिएको हो । लामो समय वन, वातावरणमा कार्य अनुभव भएका विषय विज्ञ व्यक्तिहरुको समूह यतिखेर घोडाघोडी क्षेत्रको जैविक विविधता, पर्यापर्यटन,स्थानीय रोजगारी सृजना, पानीको मुहान, बाह्य मिचाहा प्रजातिलगायतका विषयमा जानकारी लिने काम गरिरहेको छ ।

अद्यावधिक कार्यक्रमको नेतृत्व झमक कार्कीले गर्नुभएको छ । टोलीमा जैविक विविधता विद् सृजन श्रेष्ठ, डाक्टर रोशा, पूर्णिमा जोशी, पवित्रा सुब्बा हुनुहुन्छ । जानकारी अद्यावधिकमा खटिएको समूहले घोडाघोडी तालको पानी, माटोको गुणस्तर मापन देखि सिमसार क्षेत्रको प्रत्यक्ष अवलोकगरी सरोकारवाला निकायसंग छलफलसमेत चलाएको छ।

आइतबार घोडाघोडी सिमसारसँग जोडिएका विभिन्न सरोकारवाला सङ्घसंस्थाका व्यक्तिहरुसँग घोडाघाडी तालक्षेत्रका विषयमा समूह समूहमा छलफल गरे जैविक विविधता, पर्यापर्यटन, पानी, व्यवस्थापनका विषयमा जानकारी लिएको छ । 

छलफल कार्यक्रममा समूहगत छलफलबाट घोडाघोडी तालको जैविक विविधता, पर्यापर्यटन, पानीको स्रोत, व्यवस्थापनमा भएका विषयमा जानकारी गराउनुका साथै आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा जानकारी गराएका थिए । छलफल कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, जनप्रतिनिधि, वनका कर्मचारी, संरक्षणको क्षेत्रमा कामगर्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडी सिमसार क्षेत्रको संरक्षणमा नेपाल सरकारले गरेका प्रतिबद्धता र सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो ।

जानकारी अद्यावधिक कार्यक्रमका प्रमुख झमक कार्कीले समुदाय स्तरसम्म पुगेर २९६ बुँदामा रहेको जानकारी लिने कार्य भैरहेको बताउनुभयो । उहाँले घोडाघोडी ताल सन् २००३ मा रामसारमा सूचीकृत भैसकेकेपछि हालको अवस्थालाई रामसार अद्यावधिकका लागि विज्ञहरुद्वारा जानकारी लिने कार्य भएको जनाउनुभयो । घोडाघोडी ताल, सेफोक्सुन्डो ताल र विसहजारी ताल क्षेत्रको रामसार जानकारी अद्यावधिक गर्ने कार्यको जिम्मेवारी पाएको फाउन्डेसनले अद्यावधिक प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जनाइएको छ ।

नेपाल सरकारको रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्ग दर्शनमा नेपालमा १० वटा रामसार क्षेत्रहरु छन् । घोडाघोडी ताल २००३ मा रामसार सुचिमा सूचिकृत भएको हो । तालको कूल क्षेत्रफल २५सय ६३ हेक्टर छ । 

रामसार सूचीमा सूचीकृत हुँदा तालको क्षेत्रमा ठूला तर कम गहिरो तालसमेत गरेर ठूला ससाना गरी २० वटा ताल तलैयालाई समेटेको पाइन्छ । यहाँ सङ्कटापन्न प्रजातिहरु जस्तै कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारी पनि यहाँ पाइन्छन् । तालमा चार सय ५० प्रजाति वनस्पति, २९ प्रजाति माछा, ३२ प्रजाति पुतली, एक प्रजाति गोही, ७ प्रजाति सरिसृप, १४० प्रजाति रैथाने र घुमन्ते चराहरु उल्लेख गरिएको छ । 

हाल भने उक्त जानकारीमा केही तलमाथि भएको विभिन्न समयमा सरोकारवाला निकायले प्रस्तुत गर्ने तथ्याङ्कमा देखिन्छ । हरेक वर्ष चरा गणना हुँदै आएको घोडाघोडीमा ४८० प्रजातिका चरा पाइने जनाइएको छ । जङ्गली धान, हरिहाँस र मगरगोही घोडाघोडी तालको सूचक प्रजातिका रुपमा छन् ।

नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्रको रुपमा रहेको घोडाघोडी तालको जानकारी रामसार अद्यावधिक कार्यले वर्तमान तालक्षेत्रको जानकारी दस्तावेजीकरण हुनुका साथै संरक्षणका लागि थप पहलकदमी हुने विश्वास गरिएको छ ।