• २७ वैशाख २०८१, बिहिबार

नक्कली औषधी बिक्रेता कारागार चलान

blog

गजेन्द्र गुरुङ

खजुरा, चैत १८ गते । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा फेला परेका बाँकेका एक नक्कली औषधी बिक्रेतालाई अदालतले कारागार चलान गरेको छ ।

डुडुवा गाउँपालिका ६ चौधरीपूर्वाका नक्कली औषधी बिक्रेता विकास लखेरलाई माग गरेको एक लाख रुपियाँ धरौटी बुझाउन नसक्दा जिल्ला अदालत बाँकेले आइतबार कारागार चलान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

गत फागुन २४ गते प्रशासनको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा लखेरले डुडुवा गाउँपालिका वडा नं. ६ स्थित चौधरीपूर्वामा नक्कली औषधी पसल सञ्चालन गरेको पाइएको थियो । अनुगमन टोलीले तत्काल उक्त पसललाई बन्द गरेर बिक्रेता लखेरलाई पक्राउ गरेको थियो ।

नक्कली औषधी बिक्रेता विकास लखेरलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमार्फत् कारबाही अगाडि बढाइएकोमा औषधी ऐन २०३५ अनुसार ५ वर्ष कैद र ५० हजार जरिवाना दाबी गरी अदालतमा अभियोग दर्ता गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

आइतबार जिल्ला अदालतबाट लखेरलाई एक लाख रुपियाँ धरौटी माग भएकोमा उनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

लखेरले प्रचलित कानुनअनुसार कहिँकतै दर्ता समेत नगरिएको औषधी पसल सञ्चालन गर्दै आएका थिए । लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र नभएको पाइएको थियो । दर्ता नभएको पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएपश्चात् औषधी व्यवस्था विभागले कारबाही प्रकृया अगाडि बढाएको थियो ।