• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन

blog

राष्ट्रपति रामचन्द्र पौडेल चितवन र तनहुँ जोड्ने त्रिशुली नदीको नवनिर्मित पुल उद्घाटनका अवसरमा । तस्बिर : गोरखापत्र

वसन्त पराजुली 

चितवन, चैत १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन गर्नुभएको छ । पुलको शनिबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले आफू मुलुकको अभिभावकीय भूमिकामा आएदेखि नै यस पवित्र भूमि देवघाट आउने इच्चा तीव्र भएपनि विभिन्न कारणले ढिला भएको बताउनुभयो । 

‘‘तनहुँ र चितवनलाई जोड्ने नवनिर्मित त्रिशूली नदी पुलले आज भेटघाट गर्ने अवसर जुराइदियो । मुलुककै महत्त्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल यस पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर तपाईँहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यहाँसम्म आइपुग्दा गर्नुपरेका सङ्घर्ष र अनेक अवरोधहरू तपाईँहरूबाट छिपेको छैन,’’ राष्ट्रपति पौडेलले भन्नुभयो । 

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले चितवन र तनहुँ जोड्ने त्रिशुली नदीको नवनिर्मित पुल उद्घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन :

कार्यक्रमका अध्यक्ष 

माननीय उपप्रधान मन्त्री

उपस्थित महिला तथा सज्जन वृन्द !

म मुलुकको अभिभावकीय भूमिकामा आएदेखि नै यस पवित्र भूमि देवघाटमा आएर तपाईहरूसँग भेट गर्ने तीव्र इच्छा थियो । तर विभिन्न कारणले ढिला भएपनि तनहुँ र चितवनलाई जोड्ने नवनिर्मित त्रिशुली नदी पुलमा आज आयोजित यस कार्यक्रमले यो समय जुराइदिएको छ ।  मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल यस पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर तपाईहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुशी लागेको छ । यहाँंसम्म आईपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोधहरू तपाईँहरूबाट छिपेको छैन । 

दामोदर कुण्डबाट बहेर आएको कृष्णा ( कालीगण्डकी ) र गोसाइँकुण्डबाट बहेर आएको त्रिशूलीजस्ता पवित्र नदीको संगम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा सहभागी गरेर यहाँको विकास गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । ऋषिमुनीहरूले तपस्या गरेको यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलहरूको संरक्षण र संवद्र्धन गरी सरोकारवालाहरूको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ । देवघाट धाम, गण्डकी नदी, तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी छ । देवघाट क्षेत्र विकास समितिको स्थापनाकालदेखिनै यहाँको समग्र विकासमा मैले सदैव ध्यान दिएको विदितै छ । यसको थप विकासमा म तपाईहरुसँग  सँधै रहने विश्वास दिलाउन चाहन्छु । 

यति पवित्र भूमिमा वर्षौदेखि एउटा झोलुङगे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको छ । दासढुंगा पुलले माथिल्लो भागलाई जोडेको थियो भने यो पुलले देवघाटलाई सोझै नारायणघाटसँग जोड्दछ । दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेछ भन्ने विश्वास लिएको छु । देशविदेशबाट चितवन आउने जोकोहीलाई भरतपुरबाट सहज पहुँचको मार्गप्रशस्त गरेको यस पुलले देवघाटधामको सर्वाङ्गीण विकासको ढोका खोलयेको छ । दुईवटा प्रदेश र दुई जिल्ला जोड्ने यो पुल यहीक्षेत्र भएर जाने शालिग्राम मार्गको प्रस्थान विन्दु हो । 

ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छौ । आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य हो । सफल राजनीतिक आन्दोलनको कार्यभार पुरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ । यसमा कहींकतै द्विविधा हुनुहुँदैन । 

 उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग हो । यस क्षेत्रको  विकासका लागि यो पुल कोशेढुङगा सावित हुनसक्छ भन्ने मलाई लाग्छ । किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्र रुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालीग्राममार्गलाई कालीगण्डकी कोरीडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु ।  

यो ठाउँ त देवघाट पालिकाको दुई वटा वडामात्र हो । सिङ्गै चार वटा वडाका मानिस त्यो माथि भीरपाखामा बस्छन् । मान्छे हिड्न र त्यहाँ उत्पादित सुन्तला तार्न तीनका लागि गाईघाटमा अर्को पुल चाहिएको छ । त्यस्तै, १२६ मेघावाटको  विद्युत परियोजनाको पावर हाउस पनि त्यहीँ बनाउनु छ । 

लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता  पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाउछन् । केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन । यस अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन प्रेरित गर्दछ ।  

देशको समृद्धिका मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन हो । म त्यही एजेण्डामा आज पनि उभिएको छु । राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन । अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो । 

अन्त्यमा, यस पुलको निर्माण कार्यमा अहोरात्र लाग्ने प्राविधिकहरू, स्थानीय निकाय र स्थानीयवासी तथा पुल निर्माणमा लाग्ने भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयप्रति धन्यवादसहित आफ्नो भनाई यही टुग्याउँछु । 

जय नेपाल !  मिति : २०८० चैत्र १७ गते शनिबार