• १५ वैशाख २०८१, शनिबार

सहकारी खारेज प्रक्रिया सुरु

blog

सिराज खान 

नेपालगन्ज, चैत १६ गते । बाँके जिल्लाको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा ऐन नियमविपरीत चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । 

कोहलपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका २२ वटा सहकारी ‘कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन नगरेको पाइएकोले ती सहकारीलाई खारेजीका लागि प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाको सहकारी ऐन, २०७४ अनुसार सञ्चालनमा नरहेका, झोलामा मात्र सीमित रहेका र पटक पटक सूचना निकाल्दा पनि सम्पर्क नगरेर अटेरी गर्ने सहकारीको खारेजी प्रक्रिया सुरु गरिएको बताउनुभयो । कोहलपुर नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाका प्रमुख अग्नि आचार्यले पटक पटक सूचना निकाल्दा पनि नगरपालिकाको सम्पर्कमा नआएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेस नगर्ने, चालु अवस्थामा रहे नरहेकोसमेत यकिन गर्न नसकिएको हुँदा २२ वटा सहकारीलाई खारेजी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “ती २२ वटा सहकारीलाई अन्तिम पटकका लागि १५ दिने सूचना प्रकाशन गरिसकेका छौँ, सो समयभित्र नआएको खण्डमा खारेजी गर्ने छौँ ।” नगर क्षेत्रभित्रका कतिपय सहकारीले आफ्नो क्षेत्रभन्दा बाहिर कारोबार गरिरहेको र सोको आधारसमेत पेस नगरेका सहकारीलाई समेत कारबाहीको प्रक्रिया अगाडि बढाइने उपशाखाका प्रमुख आचार्यले बताउनुभयो ।