फडिन्द्र अधिकारी
लेखनाथ, चैत १५ गते । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशको मनाङबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गण्डकीबाट ४० हजार नौ सय १८ परीक्षार्थी यसमा सहभागी छन् ।
प्रदेशमा एसइईका लागि दुई सय १४ परीक्षा केन्द्र तोकिएका छन् । प्रदेश शिक्षा विकास निर्देशनालय गण्डकीका उपमहानिर्देशक घनश्याम पौडेलले वर्षाका कारण परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म आउन केही कठिनाइ भए पनि परीक्षा शान्तिपूर्ण रूपमा जारी रहेको जानकारी दिनुभयो ।
गण्डकीमा सबैभन्दा बढी विद्यार्थी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० जना परीक्षामा सहभागी छन् । पूर्वी नवलपरासीबाट छ हजार एक सय ६५, गोरखाबाट तीन हजार छ सय ६२, लमजुङबाट दुई हजार छ सय ७९, तनहुँबाट पाँच हजार चार सय ६२ जनाले एसइई दिँदैछन् ।
स्याङ्जाबाट चार हजार एक सय २४, बागलुङबाट चार हजार तीन सय ९९, मुस्ताङबाट एक सय ८८, म्याग्दीबाट एक हजार नौ सय ३८ र पर्वतबाट दुई हजार २८ विद्यार्थी परीक्षामा सहभागी छन् ।
गण्डकीका सामुदायिक र संस्थागत गरी एक हजार तीन सय ३२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन् । नियमिततर्फका परीक्षार्थी ३९ हजार ४२ जना छन् । प्राविधिक विषयतर्फका एक हजार तीन सय ९० र ग्रेड वृद्धितर्फका चार सय ८६ विद्यार्थी रहेको उपमहानिर्देशक पौडेलले जानकारी दिनुभयो ।
परीक्षा सञ्चालनका लागि दुई सय १४ केन्द्राध्यक्ष, तीन सय ७२ सहायक केन्द्रध्यक्ष र दुई हजार एक सय ४४ निरीक्षक खटाइएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।