• १३ साउन २०८१, आइतबार

शुक्लाफाँटामा खरमजुरको अनुगमन

blog

शुक्लाफाँटामा देखिएको खरमजुर चरा । तस्बिर सौजन्यः चुङ्वा शेर्पा

अविनाश चौधरी

धनगढी, चैत १४ गते । सुदूरपश्चिम प्रदेशमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट अति सङ्कटापन्न खरमजुर चराको अनुगमन सुरु भएको छ । 

निकुञ्ज, नेपाल पन्क्षी संरक्षण सङ्घ र नेपाली सेनाको टोलीले खरमजुरको अनुगमन सुरु गरेको हो । पछिल्लो केही वर्षयता बर्सेनि निकुञ्जमा खरमजुरको अनुगमन हुँदैआएको छ ।  

खरमजुरको सङ्ख्या, अवस्था पत्ता लगाउने र विस्तृत अध्ययन गर्ने उद्देश्यले बुधबारबाट अनुगमन थालिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । उहाँले ‘स्वीप’ र ‘क्यामेरा ट्रयाप’ विधिमार्फत खरमजुरको अनुगमन गर्ने जानकारी दिनुभयो । 

शुक्लाफाँटा, करैयाफाँटा, मोहनपुरफाँटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रको घाँसे मैदानमा ६ वटा ब्लक बनाएर अनुगमन गरिने जनाइएको छ । यी चारवटै घाँसे मैदानमा चैत १४, १५, १८, १९, २२ र २३ गते गरेर ६ पटक खरमजुरको अनुगमन हुने ऐरले बताउनुभयो । 

यो बेला खरमजुरको प्रजनन् सिजन हो । यस सिजनमा पोथीलाई आकर्षित गर्न भाले खरमजुर घाँसे मैदानमा २० देखि ३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइएको छ । यो बेला भाले खरमजुर नाच्ने गरेकाले अनुगमन गर्न सजिलो हुनेगर्छ । विगतमा सम्भावित घाँसे मैदानमा मचानबाट हेरेर मात्र शुक्लाफाँटामा खरमजुरको अनुगमन गरिएको थियो । 

यस पटक स्वीपविधि अन्तर्गत ५०–५० मिटरको दूरीमा अनुगमनकर्ताहरू घाँसे मैदानमा सँगैहिड्ने र फेला परेका खरमजुरको तथ्याङ्क राख्ने जनाइएको छ । यसैगरी, घाँसे मैदानको फायरलाइन र वन्यजन्तु हिँड्ने बाटोमा ५००–५०० मिटरको ग्रिड बनाएर क्यामेरा राखेर पनि अनुगमन गरिने बताइएको छ ।  

यसरी दुवै विधिबाट खरमजुरको भाले, पोथी छुटाउने, घाँसे मैदानको अवस्था, उचाइ, घाँसे मैदानमा आगलागी, त्यहाँ अन्य वन्यजन्तुको ओहोरदोहोर लगायतबारेमा गहन अध्ययन हुने ऐरले बताउनुभयो । 

अनुगमनबाट आएको तथ्य, तथ्याङ्कलाई विश्लेषण गरी एउटा प्रोटोकल बनाएर भविष्यमा खरमजुर संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन, बर्सेनि अनुगमन लगायतका काम गरिने उहाँको भनाइ छ । यसअघि, सन् २०२१ मा सात वटा र २०२३ मा पाँच वटा खरमजुर निकुञ्जमा अभिलेख गरिएको थियो ।