• ८ मंसिर २०८१, शनिबार

श्री एयरलाइन्सको जहाज थप

blog

काठमाडौँ, चैत १४ गते । श्री एयरलाइन्सले क्यानडाको दी हाभिल्यान्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको छ । यसअघि कम्पनीले आठ वटा जहाज र आठ वटा हेलिकोप्टरमार्फत हवाई सेवा दिँदै आएको थियो । नयाँ जहाज भित्रिएसँगै कम्पनीसँग वायुयानको सङ्ख्या १८ पुगेको छ ।

गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन नयाँ जहाज थपेर बजार प्रवर्धनको काम अघि बढाइने श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भित्रिएका नयाँ जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजभन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावरयुक्त रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया यथाशीघ्र पूरा गरी उक्त विमानबाट आन्तरिक गन्तव्यमा उडान थप गरी भरपर्दो सेवा सुचारु गर्दै छौँ ।” नयाँ जहाजमार्फत तुम्लिङ्टार, भरतपुरलगायतका गन्तव्यमा नियमित उडान विस्तार गरिनुका साथै पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने उहाँले बताउनुभयो ।

यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाज अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुलाई कम ध्वनि अनुभूति दिने उहाँले जानकारी दिनुभयो ।  नेपाल भित्रिएका यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजभन्दा दोब्बर शक्तिशाली (५४०० साफ्ट हर्सपावर) भएको तथा क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट पीडब्लूआई५० ए अत्यन्तै भरपर्दो रहेको कम्पनीको दाबी छ ।

कम्पनीले सन् २०१७ बाट ५० सिट क्षमताको दुई वटा सिआरजे २०० तथा ७० सिट क्षमताको दुई वटा आरजे ७०० जेट विमानबाट आन्तरिक उडान सेवा सुरु गरेको थियो । सुरुमा काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलमा हवाई सेवा सञ्चालन गरेको कम्पनीले पछिल्लो समय पर्वतीय उडानसमेत सञ्चालन गर्दै आएको छ ।