• १३ साउन २०८१, आइतबार

देवदह–माथागढी नवनिर्मित पदमार्ग उद्घाटन

blog

पदमार्गको उद्घाटन गर्दै पृतनापति उपरथी सुनिल श्रेष्ठसहित पदाधिकारीहरू । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत १० गते । रुपन्देहीको देवदहबाट पाल्पाको माथागढी जोड्ने पदमार्ग निर्माण गरिएको छ । पहिलो चरणमा नेपाली सेनाले देवदह–माथागढी जोड्ने पदमार्ग अन्तर्गतको ११७ मिटर दूरीमा सिँढी र रेलिङ निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको जनहितको कार्य अन्तर्गत श्री गरुड दलद्वारा नवनिर्मित शरणबारी–माथागढी ऐतिहासिक पदमार्ग अन्तर्गत १० लाख लागतमा ११७ मिटर सिढी र रेलिङ निर्माण गरी देवदह नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

पदमार्गको मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सुनिल श्रेष्ठ, श्री २२ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथि ललितबहादुर कुँवर, र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख खरेलले देवदह र पाल्पाको सिमाना पर्ने सामरिक महत्वको माथागढी पुग्ने पर्यटकीय पदमार्गको चरणबद्ध रूपमा काम अघि बढेको उल्लेख गर्नुभयो । ‘पर्यटन प्रवर्धनमा टेवा पुग्नेगरी महत्त्वपूर्ण काम भएको छ, यो वर्ष पूर्वाधारका लागि १ करोड रुपियाँ बजेट विनियोजन गरेका छौँ’ उहाँले भन्नुभयो ।

देवदह नगरपालिकाले दुई वर्षअघि १५ करोड बजेटको शरणबारी–माथागढी पदमार्ग गुरुयोजना तयार गरेर काम अघि बढाएको थियो । जसमा फुटरेल, रेलिङ, प्रतीक्षालय, लाइटिङ र पिउने पानी लगायतको व्यवस्था रहने छ । शरणवारीदेखि –५ दशमलव २ किलोमिटर दूरी रहेको छ ।

कार्यक्रममा गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले माथागढीको महत्वबारे प्रकाश पार्दै १८१४–१८१६ मा यो गढी युद्धमा प्रयोग भएको उहाँले बताउनुभयो ।

नेपाली सेनाले जनहितको काम गर्ने नीतिअनुसार प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै गढी, किल्ला तथा पदमार्ग संरक्षण र संवर्द्धन गर्ने नीति रहेको उहाँको दाबी छ । यसैगरी सेनाले जितगढी–नुवाकोट सिडी मार्ग निर्माण, उजिरसिंह थापाको पूर्णकदको मूर्ति स्थापनाको कामलाई पनि अघि बढाएको उहाँले बताउनुभयो ।

गढीको उत्तरतर्फ झुम्साखोलाको किनारालाई गढबास भनिने उहाँको भनाइ छ । अर्धसैनिक गण बसोबास गर्ने ठाउँलाई जनाउँदछ भने दक्षिणतर्फको मैदानी भाग अर्थात् दाउन्ने कप्तानबास भन्ने ठाउँ पर्छ ।