• १३ साउन २०८१, आइतबार

‘एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ’

blog

नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ९ गते । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभए पनि मोर्चा कायम रहने बताउनुभएको हो ।

उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताउनुभयो । उहाँले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताउनुभयो ।

उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनुभयो । उहाँले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने जानकारी दिनुभयो ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरुका बिचमा नीति, कार्यक्रमहरुमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताउनु भयो । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उहाँको भनाइ छ ।

‘‘यसले समाजवादको आधार तयार पार्ने, त्यो प्रकारका नीति, कार्यक्रम बनाउने यसको एउटा उद्देश्य हो । अर्को चाहीँ तलैसम्म मोर्चा बनाएर लिएर गएर धरातलसम्म पुर्‍याउने र काहीँ एउटा सन्दर्भमा गएर साझा नीति, कार्यक्रममा सहमती हुँदै गए त सहकार्यले फेरी हामीलाई एउटै सङ्गठन बनाउनेमा पनि जानसक्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘समान धारणा भएका, छरिएर बसेका शक्तिहरु एक ठाउँ, एउटा मोर्चामा आएर समान बुझाइ, समान कार्यबाट अगाडि बढ्ने बनाएर समाजवादलाई प्रचारप्रसार गर्ने र जनतामा जाने । जस्तो अहिले समाजवादी मोर्चामा भएका तीन वटा घटक सरकारमा छौँ हामी । समाजवादको आधार तयार पार्ने कस्ता नीतिहरु तयार हुने ? सरकारको नीति, कार्यक्रम, बजेट आउँदैछ ।’’

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा सङ्गठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताउनुभयो । उहाँले आगामी दिनमा वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताउनुभयो ।