• १५ वैशाख २०८१, शनिबार

मर्स्याङ्दीमा मोटरबोटमा सयर गर्न पाइने

blog

अमरराज नहर्की

तनहुँ, चैत्र ९ गते । मर्स्याङ्दी नदीमा मोटरबोटमा सयर गर्न पाइने भएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोटमा आनन्द लिन गर्न पाइने भएको हो । जलाशयमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले पर्यटक भुलाई स्थानीयलाई रोजगारी तथा आयआर्जन दिनको लागि मोटर बोट सञ्चालनको  तयारी गरेको छ ।

केन्द्रले बाँधले गर्दा वडा नं १ र २ मा बनेको जलाशयमा मोटरबोट सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । नेपालीको नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, ‘जलाशयको सदुपयोग गरी स्थानीयलाई रोजगारी र आम्दानी दिन मोटरबोट सञ्चालन गर्न लागेका हौँ ।’ अध्यक्ष चुमानले भन्नुभयो । जलाशयमा मोटरबोट सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्ने अपेक्षा गाउँपालिकाको छ । मोटरबोट सञ्चालनपछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेलाई पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गाउँपालिकाले लिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यसको लागि समन्वय भइरहेको गाउँपालिको जनाएको छ । मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपति गौतमले जलाशयमा मोटरबोट सञ्चालन गर्न उपयुक्त देखिएको मन्त्रालयलाई अनुमति दिनको लागि समन्वय भइरहेको जानकारी दिनुभयो ।  प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि सोही जलाशय नजिक छ । धार्मिक पर्यटकलाई थप आकर्षित गर्न मोटर बोटले सहयोग गर्ने भएकोले सञ्चालनको गर्न सूचना जारी गरिएको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । मोटरबोट सुरु भएपछि स्थानीय बासिन्दाका लागि सहज यात्रा गर्न, बिरामी ल्याउन र समान ओसारपसार गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।