• १५ वैशाख २०८१, शनिबार

बारीबाटै आलु बिक्री, किसान खुसी

blog

अमरराज नहर्की

तनहुँ, चैत ९ गते । औद्योगिक प्रयोजनका लागि तनहुँका कृषकले उत्पादन गरेको आलु बिक्री भएको छ । आलु फल्नुअघि नै खरिद सम्झौता भएबमोजिम आलु बिक्री भएपछि कृषक खुसी भएका छन् । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा आलु फल्नुअघि नै द्विपक्षीय सम्झौता गरिएको थियो । समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएबमोजिम बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र तनहुँ, स्थानीय पालिका र फस्र्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबिच उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भए अनुसार बिक्री भएको केन्द्रका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक यो कार्यक्रम लागु भएको बिक्रीको लागि सहज भएपछि किसान उत्साहित भएको उहाँले बताउनुभयो । लामिछानेले भन्नुभयो, “आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराएका थियौँ ।” कार्यक्रम अन्तर्गत ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । आलु लगाउने किसानलाई बिउमा ७५ प्रतिशत अनुदान रकम प्रदान गरिएको केन्द्रले जनाएको छ । आलुको बोरामा समेत ७५ प्रतिशत अनुदान प्रदान गरेर कृषकको लागत मूल्य घटाएर प्रोत्साहन गरिएको थियो । सम्झौता अनुसार जिल्लाका विभिन्न १२ वटा कृषक समूहमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलु लगाइएकामा आलु बिक्री गरिएका केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्ज्वल, खुमल विकास, जनकदेव जातका आलु बिक्री भएको उहाँले जानकारी दिनुभयो । 

उत्पादन भएको आलु कम्पनीले २३ रुपियाँ र केन्द्रका तर्फबाट दुई रुपियाँ गरी २५ रुपियाँ प्रतिकिलो बारीबाटै बिक्री भएको परियारले जानकारी दिनुभयो । नेपालमा उत्पादन भएको आलुभन्दा भारतबाट आयात गरेको आलु सस्तो पर्ने भए पनि कम्पनी नेपाली किसानलाई प्रोत्साहनका लागि खरिद सम्झौता गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम अनुदान उपलब्ध गराएको हो । गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको छ । यस कार्यक्रमले आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने अपेक्षा केन्द्रले लिएको छ ।

खुमल उज्ज्वल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मैनियामा रहेको फस्र्ट च्वाइस फुड्स प्रालिले खरिद गरेको हो । यस वर्ष कम्पनीले आलुबाट फ्रेन्च फ्राइज, चिप्स उत्पादन गर्ने तयारी गरिरहेको र त्यसका लागि खुमल जातका आलु उपयुक्त हुने केन्द्र प्रमुख लामिछानेले जानकारी दिनुभयो । कृषक समूहले एक हजार पाँच सयको रोपनीमा सम्झौताका लागि माग गरेको भए पनि भौगोलिक विकटता भएका ठाउँमा कम्पनीले नमानेकाले यस वर्ष एक हजार रोपनीको सम्झौता गरिएको थियो । 

लामिछानेका अनुसार साढे दुई अर्ब रुपियाँको लगानीमा निर्माण गरिएको फस्र्ट च्वाइस फुड्स प्रालिले आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । 

फस्र्ट च्वाइस फुड्स प्रालिले गत साउन २ देखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेकाले आलु खरिद गरेको उहाँले बताउनुभयो । आलुबाट तयार हुने उद्योगको मुख्य उत्पादन फ्रेन्च फ्राइज हुने छ भने त्योसँगै आलु टिक्की, आलु बर्गर, आलु चिप्स, आलु समोसा, आलु पकौडालगायत आलुकै करिब एक दर्जन परिकार उत्पादन हुने बताइएको छ । 

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको आलुका लागि गत वर्ष दुई सय टन बिउ ल्याएर रुपन्देही, नवलपरासी, चितवन, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, बर्दिया, कैलाली, दाङ र पाल्पामा परीक्षण खेती गरिएको थियो ।