• २१ वैशाख २०८१, शुक्रबार

लैला : सुस्ता बचाऊ अभियानकी खम्बा

blog

बद्री आलम र नुरजहाँ बेगम लैला

बोमलाल गिरी

नवलपुर, चैत ८ गते । नवलपरासीपश्चिम सुस्ता गाउँपालिका–५ की नुरजहाँ बेगमले भारतमा विवाह गर्नुभयो । प्रसङ्ग झन्डै ३५ वर्षअघिको हो । भारत कुशीनगर रमकोलाका बद्री आलमसँग विवाह गर्नुभएकी नुरजहाँ चार दिन मात्र आफ्नो घरमा बस्नुभयो । भारतले निरन्तर नेपालको सुस्तामा अतिक्रमण गरिरहेकाले नेपाली भूमि जोगाउन आफ्नो आवश्यकता रहेको नुरजहाँलाई महसुस भयो । नुरजहाँले नेपाल आउन पतिलाई निकै आग्रह गर्न थाल्नुभयो । 

सुरुमा नुरजहाँको प्रस्ताव बद्रीलाई मन परेन । ‘तपाईं नजाने हो भने म एक्लै नेपाल फर्किन्छु, मलाई सुस्ताको माटो प्यारो छ’ भनेर अड्डी कस्नु भएपछि बद्री नवविवाहित दुलहीसँगै सुस्ता फर्कन तयार हुनुभयो ।

नेपाल फर्किएपछि नुरजहाँले आफ्नो नाम ‘लैला’ राख्नुभयो । नाम परिवर्तनका कारणबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “माटोसँगको प्रेमका कारण लैला नामकरण गरेकी हुँ । मलाई यो माटोसँग प्रेम छ ।” अचेल उहाँ ‘लैला फुपू’ का नामले परिचित हुनुहुन्छ । 

भारतकी बुहारी लैला माइती फर्किएर भारतीय पतिका सहयोगमा सुस्ता बचाउन भारतसँगै धेरै लड्नुभयो । “मेरो नेतृत्वमा महिलाको टोली बनायौँ । भारतसँग पटक पटक लडाइँ ग¥यौँ,” भारतीय सुरक्षाकर्मीसँग लडेका ती दिन सम्झँदै लैलाले भन्नुभयो, “सबै महिलालाई लिएर नेपालको सीमामा गएँ । हाम्रो फौज देखेर भारतीय प्रहरी पछाडि हटेका थिए । अहिले पनि हामी सुस्ताकै लागि लडिरहेका छौँ ।”

लैलासहितको त्यो लडाइँमा सुस्ता बचाउन ठूलो योगदान छ, नेपाल प्रहरीका पूर्वहबल्दार गोपाल गुरुङको । भारतीय अतिक्रमण रोक्न सुस्तामै स्थानीयले दिएको एक कठ्ठा जमिनमा सानो झुपडी बनाएर उहाँ बस्नुभएको थियो । सरकारी जागिर छाडेर सुस्ता पुग्नुभएका गुरुङ नेपाली भूमिका लागि २५ वर्ष लड्नुभयो । सुस्ता बचाउन लड्दालड्दै गत वर्ष उहाँको निधन भयो । सुस्ता बचाउने सम्पूर्ण अभिभारा अब लैलाकै काँधमा आएको छ । 

अहिले पनि नेपालको भूमिमा अतिक्रमण जारी छ । भारतीय नागरिक बद्रीलाई पनि भारतले नेपाली भूमि मिचिरहेको महसुस भइरहेको छ । “भारतले नेपाली भूमि मिचेको यी आँखाले टुलुटुलु हेरिरहेका छन् । भूमि रक्षाका लागि नेपालीले भारतसँग लडाइँ गरिरहेका छन् । जुन एकदमै जायज छ । त्यसमा मैले पनि साथ दिन पाउँदा गर्वको महसुस भइरहेको छ,” उहाँले भन्नुभयो । जुन भूमिको खाइन्छ, त्यसको ऋण तिर्न आफू तयार रहेको उहाँले भन्नुभयो । उहाँ पतिपत्नीसँग नेपाली नागरिकता भने छैन । घर छ, जग्गा छ तर लालपुर्जा छैन । सुस्ता बचाउन उहाँहरू सिंहदरबार जानुभयो । बालुवाटार पुग्नुभयो । तर कुनै उपलब्धि हासिल भएन । निकै सङ्घर्षपछि २०६२ साल कात्तिक ४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ता स्थापना भयो । पछि इलाका प्रहरी कार्यालय पनि स्थापना भयो । 

अहिले पनि सुस्तामा समस्या छ । सीमा मिचिएकै छ । स्थानीयले नागरिकता र लालपुर्जा पाएका छैनन् । लैलाले भन्नुभयो, “थुप्रै नेपाली जुन हाम्रै साथमा सीमाका लागि लडिरहेका छन्, उनीहरूले पनि नागरिकता पाएका छैनन् ।” उहाँका छोराछोरीले भने जन्मका आधारमा नेपाली नागरिकता पाएका छन् । 

जिल्ला प्रशासन कार्यालय नवलपरासीपश्चिमका अनुसार झन्डै पाँच सयले नागरिकता पाउन सकेका छैनन् । नवलपरासीपश्चिमका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कतिपय स्थायी रूपमा नेपालमै बसेकाले सम्मानार्थ नागरिकता पनि मागेको भन्दै यो केन्द्रीय सरकारको अधिकारको विषय भएको बताउनुभयो ।

२०३९ सालदेखि निरन्तर त्यही क्षेत्रको जनप्रतिनिधि रहनुभएका हाल सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नेपालमै जन्मदर्ता भएका वा बाबुको नागरिकता भएकाले नागरिकता पाएको बताउनुभयो । उहाँले २०६२ अघि सुस्तामा पटक पटक भारतीय सुरक्षाकर्मीसँग स्थानीयको झडप हुने गरेको भए पनि हाल यहाँ सरकारको उपस्थिति भएपछि सुस्ता पनि शान्त हुँदै गएको बताउनुभयो ।