• १३ साउन २०८१, आइतबार

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्

blog

प्रतिनिधि सभा बैठक ।

काठमाडौं, चैत ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरूको माग यथावत् रहेको बताउनुभएको हो ।

उहाँले आगामी संसद् बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद् अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताउनुभयो ।

‘‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडि संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानुनप्रतिको खेलबाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन ।,’’ सांसद न्यौपानेले भन्नुभयो, ‘‘केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरू पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद् बन्दाखेरी सरकार चल्छ ? त्यो कदापि पनि हुन सक्दैन ।’’

उहाँले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताउनु भयो । उहाँले प्रतिपक्षलाई संसद् अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने बताउनुभयो ।