• १३ साउन २०८१, आइतबार

बिजुली पुगेपछि स्थानीय खुसी

blog

नवलपरासी समाचारदाता

बुलिङटार (नवलपरासी), चैत ७ गते । जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका ज्येष्ठ नागरिक दलसिंह ठाडामगर खुसीले दङ्ग पर्नुभएको छ । 

राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पुर्‍याएपछि उहाँ मात्रै होइन गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउनुहुन्छ । 

यस पहाडी क्षेत्रको गाउँपालिकाको धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य थिए तर अहिले धेरै प्रयासपछि बिजुली पुगेपछि जनताले खुसी व्यक्त गरेको स्थानीय समाजसेवी राजेन्द्र रानाभाटले बताउनुभयो । मटितेलबाट टुकी बालेर बस्ने गाउँका जनताले जीवनमै बिजुली पुग्छ भन्ने कुरा कल्पना गरेका थिएनन् तर बिजुली बलेको देख्दा स्थानीयले खुसीसँगै सरकारप्रति कृतज्ञता प्रकट गरेका छन् । 

बुलिङटार गाउँपालिका–२ मा कावासोती वितरण केन्द्रबाट ल्याइएको लाइनबाट विद्युत् बाल्न सुरु गरिएको छ । अहिले बत्ती जडान, मिटर जडान गर्न स्थानीय व्यस्त छन् ।  डाडाँझेरीका १२० घरमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको छ । सकेसम्म वडाका सबै गाउँ र टोलमा यसै वर्ष बिजुली बालिने कावासोती विद्युत् प्राधिकरणले जनाएको छ । अहिले सबैभन्दा समस्या सालको रुख कटान आदेश नहुँदाको छ । बिजुली छिटो बाल्न त्यसैले समस्या पारेको प्राधिकरणले जनाएको छ । 

पहाडी क्षेत्रमा रहेका दुई गाउँपालिका बुलिङटार र बौदीकालिकाको सबै वडामा यसै वर्ष राष्ट्रिय विद्युतीकरण पुर्‍याउने उद्देश्यका साथ काम अगाडि बढेको र बोझापोखरीमा रहेको ट्रान्समिटरमा बिजुली जडान गरी बालिएको प्राधिकरणले जनाएको छ । प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सरकार सबै क्षेत्रमा उज्यालो पुर्‍याउन लागिपरेको बताउनुभयो । उहाँले राजनीतिक रूपमा पूर्वाग्रही बनेर कसैले पनि विकासलाई रोक्न नहुने र यसरी पूर्वाग्रही भइयो भने विकास पनि नहुने धारणा राख्नुभयो । 

उहाँले कसैलाई पनि विकासमा अवरोध नगर्न अनुरोध गर्नुभएको छ। बुलिङटार गाउँपालिकाकामा बस्न योग्य, हेर्न लायक, समृद्ध बुलिङटार निर्माणलाई प्राथमिकतामा राखिएको भनाइ उहाँको छ । यसै वर्षभित्र करिब दुई हजारभन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोडिने र दुई वर्षभित्रमा यी दुई पालिकालाई उज्यालो पालिकाका रूपमा घोषणा गर्ने गरी काम अघि बढेको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले बताउनुभयो ।