• ८ मंसिर २०८१, शनिबार

‘छोरीको प्रेरणाले व्यवसायी बनायो’

blog

प्रिया मानन्धर र ब्याग व्यवसाय ।

काठमाडौँ, चैत्र ६ गते । व्यक्तित्वलाई आकर्षक बनाउन फेसनेबल कपडासँगै ब्यागले पनि सहयोग गर्छ । खास गरी सहरका युवायुवतीले फेसनका रुपमा ब्याग बोक्न थालेका छन् । अफिस जाँदा, घुमफिर गर्न वा पार्टीमा थरिथरीका ब्याग बोक्ने चलन छ । ब्यागको लोकप्रियतालाई मध्येनजर गरेर काठमाडौँकी प्रिया मानन्धरले ब्यागको व्यवसाय सुरु गरेको एक वर्ष भयो । ब्यागसँगै उहाँले हालसालै कटन कपडाको व्यवसाय पनि सुरु गर्नुभएको छ । 

प्लस टु सकिने बित्तिकै उहाँको विवाह भयो । एक गृहिणीको रुपमा परिवारको सेवामा आफ्नो दिनहरु बिताइरहेको थिए उहाँको भनाइ छ । एक दिन स्कुलबाट भ्यानमा आएकी छोरीलाई लिन घरको गेट पुगे । छोरीले मलाई अलि अनौठो नजरले हेरी रहेकी थिइन् । घरभित्र प्रवेश गरेपछि छोरीले सोधिन् ‘मामु तपाईँ किन अफिस नगएको, मेरो साथीहरुको मामु त अफिस जान्छन् तपाई पनि अफिस जानुस् न’ । छोरीको कुरा सुनेर म छक्क परे मेरो युकेजीमा पढ्ने सानी छोरीले किन यस्तो सोधिन् भनेर । 

अर्को दिन पनि छोरीले त्यही प्रश्न दोहोराएपछि भने सोचे सायद छोरीले मम्मी अफिस गए हुन्थ्यो भन्ने सोच्दिई रहेछिन् । मेरो मम्मी गृहिणी मात्र नभएर जागिरे भए हुन्थ्यो भन्ने उनलाई लाग्दो रहेछ । त्यसैले अब मैले मेरो छोरीको लागि भएपनि केही काम गर्नैपर्छ भन्ने अठोट गरे । वाउ म्यागेजिनमा मार्केटिङको काम सुरु गरे । कोरोना र लकडाउनको कारण छोरीको स्कुल बन्द भयो । छोरीलाई एक्लै घरमा छोड्न नमिलेको कारण म्यागेजिन छोड्नुपर्यो । छोरीको लागि काम सुरु गरेकी थिए छोरीकै लागि छोड्नु पर्यो । 

लकडउनपछि ग्यालेक्सी टेलिभिजनमा जोडिए । तर, विभिन्न कारणले मैले त्यहाँ लामो समय काम गर्न सकिन । जागिर छोडेर मलाई घरमा बस्ने रहर भने थिएन । किनकि छोरीलाई पनि म घरमा बसेको भन्दा काम गरेको मन पथ्र्यो । विभिन्न मिडियामा लामो समय मार्केटिङको काम गरेकाले मलाई अनुभव थियो र आफ्नै केही नयाँ व्यवसाय गर्न मन लाग्यो । के गर्ने भन्ने सोच भने बनाएकी थिइन । मलाई हेयरस्टाइल परिवर्तन गरिरहन मन पर्थ्यो । 

त्यसैले सौन्दर्यसम्बन्धी व्यवसाय गर्ने सोच बनाए । सोच त बनाए तर यससम्बन्धी ज्ञान थिएन । दसैँ नजिकिँदै गर्दा एक दिन छोरीलाई सपिङ गराउन न्युरोड पुगे । छोरीको लागि एउटा ब्याग र अन्य केही किनमेल गरे । मेरो मिल्ने साथीको पसल पनि न्युरोडमै भएकाले उहाँलाई पनि भेट्न गए । सपिङ सकिएको थिएन । त्यसैले साथीलाई छोरीको लागि किनेको ब्याग र अन्य सामान केही समय राखिदिन अनुरोध गरे । साथीले छोरीको लागि किनेको ब्याग देखाउँदै भन्नुभयो, ‘यो ब्याग त मेरै होलसेलबाट बिक्री भएको हो नी ।’

साथीको कुरा सुनेर लाग्यो व्यवसाय गर्ने सोच त छ, साथीको ब्यागको होलसेल पनि छ ब्यागकै व्यवसाय किन नगर्ने ? साथीले पनि ब्यागको व्यवसाय गर्न सल्लाह दिनुभयो । र आफूले सहयोग गर्ने बताउनुभयो । मलाई आफ्नो कामलाई परिवर्तन गरेर केही नयाँ सुरु गर्नु थियो । व्यवसाय राम्ररी चल्छ कि चल्दैन भन्नेबारे सोचिन । साथीसँग सल्लाह गरेको केही दिनमा १५ लाखको लगानीमा ब्यागको स्टोर खोलेर ‘ब्यागमाण्डु बाइ प्रिया’ नाम राखियो ।  

साथी मात्र होइन, मलाई केही नयाँ काम गर्ने हौसला दिन परिवारको पनि उत्तिकै हात छ । छोरी, श्रीमान र सासूले सधैँ साथ दिए । गृहिणीबाट, जागिरे र व्यवसायी हुन छोरी र श्रीमानले गरेको सहयोगले पनि मलाई अघि बढ्ने प्रेरणा मिल्यो । व्यवसायसम्बन्धी ज्ञान नभएकाले सुरुमा केही दिन त साह्रै गाह्रो भयो । ब्यागको मूल्य र गुणस्तर नै थाहा हुँदैन थियो ।

पहिले मार्केटिङको काम गरेको भएर होला मलाई मार्केटिङको ज्ञान भने राम्रै थियो । स्टोरसँगै मैले ब्यागमाण्डुको टीकटक र इन्स्टाग्राम अकाउन्ट पनि खोले । ब्यागको फोटो सोसल मिडियामा राख्न थाले । बिस्तारै भिडियो पनि बनाएर हाल्न थाले । मेरो भिडियोलाई धेरैले रुचाए र धेरै ब्यागको अर्डर आउन थाल्यो । राम्रो गुणस्तरको ब्याग ब्यागमाण्डुमा पाइने भएकाले धेरैको रोजाइमा पर्न सफल भयाे । राम्रो गुणस्तरको सामान र ग्राहककाे राेजाइकाे सामान भयो भने व्यवसाय राम्ररी चल्ने रहेछ ।

व्यवसाय गर्ने क्रममा विभिन्न आरोह, अवरोह पनि आए । तर मान्छेको मन कसरी जित्ने भन्ने कुरा ब्यागमाण्डुले सिकायो । यहाँबाट ब्याग किनेर गएका ग्राहकहरुलाई म कहिल्यै बिर्सिन्न । उहाँहरुसँग सम्पर्कमा रहिरहन्छु, ब्यागको क्वालिटी कस्तो लाग्यो भनेर सोध्छु । जसले गर्दा त्यही ग्राहक अर्को पटक पनि ब्यागको लागि ब्यागमान्डु नै आउँछन् । ब्यागमान्डु सुरु भएको एक वर्षमा नै यसले धेरैको मन जित्न सफल भयो । नेपालमा मात्र होइन, जापान, अमेरिका अस्ट्रेलियालगायत नेपालबाट कुरियर पुग्ने धेरै ठाउँबाट ब्यागमाण्डुको ब्याग बिक्री भइरहेको छ । 


कामकै सिलसिलामा एक दिन मेरो भेट जयपुरी कटनको सामान बेच्ने व्यक्तिसँग भयो । मलाई जयपुरी कुर्ताहरु पहिले देखी नै मनपथ्र्यो । नेपालमा जयपुरी कटन कुर्ता खासै नपाइने भएकाले त्यसको पनि व्यवसाय गरौँ जस्तो लाग्यो । पहिले थोरै कुर्ता ल्याएर ब्यागमाण्डुको स्टोर तथा पेजबाट बेचौँ अनि राम्रो भयो भने थप सामान थपौँला भन्ने सोचको साथ कपडा हेर्न भारत जयपुर पुगे । 

त्यसैले कुर्ताको पनि छुट्टै स्टोर खोल्ने निर्णय गरे नाम जुर्यो ‘कटन विङ्ग बाइ प्रिया’ । कटन विङ्गमा पाइने कटनका कुर्ता नघट्ने, कलर नजाने ग्यारेन्टी दिनुहुन्छ प्रिया । कटन विङ्गमा जयपुरी कटन कुर्ता, कटन ब्याग र कोलापुरी जुत्ती पनि उपलब्ध छ । ब्यागमाण्डु र कटन विङ्गले विदेशी ब्रान्डलाई नेपाल भित्रायो अब नेपाली ब्रान्डलाई विदेश निर्यात गर्ने योजना छ । 

गृहिणीबाट जागिरे अनि व्यवसाय पनि गर्छु भनेर सोचेकै थिइन । छोरीको प्रेरणाले नै मलाई जागिरे र व्यवसायी बनायो । धेरै महिलाहरु क्षमता भएर पनि केही नगरी बसेका हुन्छन् । तर, त्यस्तो गर्नु गलत हो । महिला आत्मनिर्भर हुनैपर्छ । आफूलाई विश्वास गर्नुपर्छ । अरुसँग आफूलाई तुलना गर्नुभन्दा आफूले कसरी मेहनत गर्ने, अरुभन्दा फरक कसरी हुने भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । बजारमा जे चली रहेको छ त्यसको पछि लाग्नेभन्दा फरक कुरा बजारमा ल्याउन सकियो भने पनि सफल हुन सकिन्छ ।