• ११ माघ २०८१, शुक्रबार

‘साउथ चाइना सी’ मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनको भनाइ

blog

नैरोवी, चैत ६ गते । ‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलबार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाइ आएको हो ।

“संयुक्त राज्य अमेरिका ‘साउथ चाइना सी’ को मुद्दाको पक्ष राष्ट्र होइन र चीन र फिलिपिन्सबिचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार छैन,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।

सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि दोस्रो पटक फिलिपिन्सको राजधानी मनिला पुगेका ब्लिन्केनले मित्रराष्ट्रका लागि चीनविरुद्धको अमेरिकी समर्थनलाई मजबुत बनाउन संक्षिप्त एसिया भ्रमण गर्नुभएको हो ।

ब्लिन्केनको टिप्पणीबारे सोधिएको प्रश्नको जवाफमा लिनले भन्नुभयो, “अमेरिका र फिलिपिन्सबिचको सैन्य सहकार्यले ‘साउथ चाइना सी’मा चीनको सार्वभौमिकता, सामुद्रिक अधिकार र हितलाई हानि पुर्‍याउनु हुँदैन र फिलिपिन्सको अवैध दाबीका लागि प्लेटफर्म प्रदान गर्न अझै कम अवसर प्रयोग गर्नुपर्छ ।

“चीनले आफ्नो क्षेत्रीय सम्प्रभुता र सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न र ‘साउथ चाइना सी’ मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहनेछ,” उहाँले भन्नुभयो ।

बेइजिङले फिलिपिन्सलगायत दक्षिणपूर्वी एसियाका धेरै राष्ट्रहरूको प्रतिस्पर्धात्मक दाबीलाई बेवास्ता गर्दै विश्व व्यापारका लागि महत्त्वपूर्ण मार्गका रूपमा रहेको ‘साउथ चाइना सी’ को करिब सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । रासस/एएफपी