• १३ साउन २०८१, आइतबार

‘कांग्रेसले गृहमन्त्रीलाई बदनाम गर्न खोज्यो’

blog

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मङ्गलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर :प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, चैत ६ गते  ।
 पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले बदनाम गर्न खोजेको आरोप लगाउनु भएको छ ।

मङ्गलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै अध्यक्ष ओलीले लामिछाने र उहाँको पार्टी कांग्रेसतिर नलागेका कारण उहाँलाई बदनाम गराउने र फसाउने खेलमा नेताहरू लागेको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको छ के उनी सहकारीमा छन् ? सहकारी डुबाउने कुरामा उनी सहकारीका सञ्चालक हुन् ? के सहकारीमा उहाँको संलग्नता र सदस्यता छ ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ।’’

‘‘बरु नेपाली कांग्रेसतिर रवि लामिछाने र उहाँको पार्टी लागेन त्यसैले उहाँलाई बदनाम गर्ने, फसाउने काम गरिएको छ ।,’’ अध्यक्ष ओलीले भन्नुभयो, ‘‘सरकारबाट हट्नु परेको पीडाको छटपटीमा छाती पिटेर रुँदैमा त्यसलाई महत्त्व दिन आवश्यक छैन ।’’

लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएका कारण छानबिनमा कुनै प्रभाव नपार्ने दाबी गर्दै उहाँले पीडित न्याय पाउने बताउनुभयो । अर्कातिर कुनै मन्त्री वा सांसदको बारेमा उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने पनि अध्यक्ष ओलीले गर्नुभयो ।

तत्कालीन समयमा नेपाली कांग्रेसका तर्फबाट भएका मन्त्रीले गम्भीर  खालका मुद्दा लाग्दा समेत झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानबिन र अनुसन्धान प्रभावित गर्न खोजेको दाबी ओलीले गर्नुभयो ।

उहाँले आफू सरकारमा भएका बेला तत्कालीन श्रममन्त्री शेरबहादुर तामाङ र सञ्चार मन्त्री गोकुल बास्कोटाको बोली चिप्लिएपछि राजीनामा गराएको स्मरण गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पदमा नयाँ सत्तागठबन्धनमा भएको भागबण्डाबारे भने ठट्टा गर्दै भन्नुभयो, ‘‘आफूलाई पनि प्रधानमन्त्री खान मन नलागेकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पूरै कार्यकाल खानुहोला जस्तो छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘अहिले प्रचण्डलाई प्रधानमन्त्री बने हुन्छ भनियो । मलाई पनि त्यति मन लाग्या छैन । अरू कोही अगाडि सरेको पनि छैन, अब के गर्ने उहाँले खानुहोला जस्तो देखिन्छ ।’’

एमालेले सरकारमा उपल्लो तहका नेता नपठाएको सन्दर्भमा पत्रकारको प्रश्नको जवाफमा उहाँले नयाँलाई सिक्ने मौका दिएको बताउनुभयो । कम्युनिष्ट पार्टी बिचको एकीकरणका बारेमा गरिएको अर्को प्रश्नमा अध्यक्ष ओलीले अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी समेत गर्नुभयो ।