• ८ मंसिर २०८१, शनिबार

सामाजिक न्यायको साझेदारीमा सहभागी हुँदै नेपाल

blog

काठमाडौँ, चैत ६ गते । सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कानबिच सोमबार भएको भेटमा मन्त्री अर्यालले सरोकारवालाको छलफलबाट सकारात्मक राय/सहमति प्राप्त भइरहेको सन्दर्भमा नेपाल सहभागी हुनेसम्बन्धी आवश्यक प्रक्रिया सुरु भइरहेको जानकारी दिनुभयो । 

त्यसअघि निर्देशक ओज्नाकले उक्त साझेदारीमा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गर्नुभएको थियो । 

भेटका क्रममा आसन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भयो । श्रम गन्तव्य देशमा नेपाली आप्रवासी श्रमिकको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित भरपर्दो र आयमूलक बनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त भएको सो अवसरमा जानकारी दिइएको थियो । 

त्यस्तै भेटमा आइएलओका नेपाल निर्देशक ओज्नाकले नेपाल र आइएलओबिच श्रमका क्षेत्रमा सुधारका विषयमा भएका सहकार्यमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । सोही अवसरमा हालै केन्द्रीय श्रम सल्लाहाकार परिषद्बाट स्वीकृत  भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकललाई अनुमोदन गर्नेसम्बन्धी  कार्ययोजना, गन्तव्य देशसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा गर्नुपर्ने नियमित र आवधिक प्रवितेदनलगायतका विषयमा भएको प्रगतिउपर छलफल भयो । 

साथै रोजगार सेवा केन्द्रको सुदृढीकरण, बाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोषणासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै यी क्षेत्रमा दुई पक्षबिच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएको मन्त्रालयले जनाएको छ ।