• २० वैशाख २०८१, बिहिबार

दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि

blog

वडास्तरीय भलिबल उपाधि विजेता फुङ्लिङ नगरपालिका–८ दोखुको खेलाडीलगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ५ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ । आयोजक नाल्बुलाई ३–० को सोझो सेटमा पराजित गर्दै फुङ्लिङ नगरपालिका–८ ले भलिबल उपाधि जितेको हो ।

भलिबल प्रतियोगिताको फाइनलमा दोखुले २५–२१, २८–२६ र २५–२३ ले नाल्बुलाई पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितसँगै फुङ्लिङ नगरपालिका–८ दोखुले ट्रफी, पदक र प्रमाणपत्रसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ ।

उपविजेता बनेको आयोजक टोली नाल्बुले २५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका विजेतालाई नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे, मेरिङ्देन गाउँपालिका सामाजिक विकास शाखाका संयोजक तेजकुमार श्रेङचङ्बाङ लगायतले ट्रफी र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

मेरिङ्देन गाउँपालिका–६ नाल्बुले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता गएको शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो । आयोजकका अनुसार प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।