• १३ साउन २०८१, आइतबार

वनमा लागेको डढेलोले तीन घर जले

blog

वनमा लागेको डढेलोले आगलागी भएको डुम्रिसेका अमृत बस्नेतको घर।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते। ताप्लेजुङमा वनमा लागेको डढेलोले तीन वटा घरसहितका संरचना जलेर नस्ट भएका छन्। प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा वनमा लागेको डढेलोले स्थानीयका घर तथा अन्य संरचना जलेर नस्ट भएका हुन्।

ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार शनिबार वनमा लागेको डढेलोले डुम्रिसेका स्थानीय अमृत बस्नेतको घर र मतान जलेर नस्ट भएको हो। घर नजिक रहेको वनमा लागेको डढेलोले बस्नेतको ढुङ्गा, माटो, काठ र जस्तापाताले निर्माण गरिएको तीनतले घर जलेको प्रनाउ लिम्बूले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबार दिउँसो २:३० बजेतिर वनमा लागेको डढेलोले बस्नेतको घर र मतानघर जल्दा ४० लाख रुपियाँ बराबरको क्षति भएको छ। आगलागीबाट बस्नेतको घरमा रहेको एक लाख ५० हजार रुपियाँ नगद, पाँच तोला बराबरको सुनका गरगहाना, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेको छ।

यस्तै डुम्रिसेकै सल्लेरी सामुदायिक वनमा लागेको डढेलोले शुक्रबार स्थानीय मङ्गलसिंह साम्सोहाङ र चन्द्रबहादुर साम्सोहाङको घर जलेर नस्ट भएको छ। सामुदायिक वनमा लागेको डढेलोको आगोको झिल्काले मङ्गलसिंहको ढुङ्गा र माटोले बनेको घर र वस्तुगोठ तथा चन्द्रबहादुरको घर शुक्रबार दिउँसो जलेर नस्ट भएको प्रनाउ लिम्बूले जानकारी दिनुभयो।

उहाँका अनुसार मङ्गलसिंहको घरमा भएको नगद ३५ हजार रुपियाँ, केही सुन र चाँदीका गरगहना, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री र दुईवटा बङ्गुर जलेर नस्ट हुँदा आठ लाख रुपियाँ बराबरको क्षति हुन गएको छ। यस्तै चन्द्रबहादुरको घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट हुँदा सात लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तैगरी शुक्रबार नै सिरिजङ्घा गाउँपालिका–१ सिनामको भैँसेटोलमा वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेको छ। सो टोलमा लागेको डढेलोले ४० एमएमको करिव दुई हजार मिटर लामो खानेपानीको पाइप जलेर नस्ट हुँदा दुई लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। खानेपानीको पाइप जलेर नस्ट हुँदा भैँसे टोलका दर्जनौ परिवार खानेपानीबाट बञ्चित भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यता सुख्खा मौसमसँगै ताप्लेजुङमा पछिल्लो दुई सातायता विभिन्न क्षेत्रका डेढ दर्जन बढी ठाउँमा वनमा डढेलो लागेको छ। हालसम्म जिल्लाका ५०० हेक्टर बढी वनको क्षेत्रफलमा डढेलो लागिसकेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। वन कार्यालयका अनुसार अहिले दिन प्रतिदिन राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्ने क्रम रहेको छ।