• १३ साउन २०८१, आइतबार

१० महिनामा ६ जना कैदीको मृत्यु

blog

देवरामप्रसाद यादव
सप्तरी, चैत २ गते ।
सप्तरीको राजविराजस्थित कारागारमा १० महिनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कारागारमा एक युवकले झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डलले शौचालयमा गम्छाको पासो बनाई झुण्डिएर आत्महत्या गरेको थियो ।

मण्डलले एक बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा ११ भदौदेखि पुर्पक्षका लागि कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

यसैगरी, कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने वीरेन्द्रकुमार मलाहाको मृत्यु भएको थियो ।

गत १० माघमा उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएका उनी सप्तरी जिल्ला अदालतको फैसला बमोजिम ज्यान मार्ने उद्योग र डाँका कसुरमा २७ पुस २०७७ देखि कारागारमा थिए ।

त्यस्तै, लागू औषध मुद्दामा सजाय काटिरहेका सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको पनि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा गत चैत २८ गते मृत्यु भएको थियो ।

बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको गत वैशाख ५ गते मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका साहलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको गत वैशाख ७ गते राति मृत्यु भएको थियो । राजविराजस्थित अस्पतालबाट रेफर भई कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो ।

कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको गत मङ्सिर ५ गते मृत्यु भएको थियो ।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा कैदमा रहेका मण्डलको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालले जनाएको थियो ।