महिनाभर मनाउने पर्व : गुँलाधर्म

नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।