लक्ष्यभन्दा बढी आन्तरिक राजस्व सङ्कलन
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा राजस्वको लक्ष्य पूरा गरेको छ । विभागले असार मसान्तका लागि तोकेको लक्ष्यभन्दा एक अर्ब रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । विभागका अनुसार उक्त महिना ७२ अर्ब ९६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागले असारमा ७१ अर्ब ७४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।
भाडा वृद्धिको विरोधमा उद्योगी
जग्गा भाडा वृद्धि लागू गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयको विरुद्धमा हेटौँडा औद्योगिक क्षेत्रका उद्योगी आन्दोलित भएका छन् । चार वर्षअघि बढाइएको जग्गा भाडा असुली गर्ने गत असारमा भएको निर्णयको विरोध गर्दै उद्योगीले विरोध गरेका हुन् ।
अत्याधुनिक पेट्रोल पम्प बनाउँदै निगम
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल टे«डिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । पाँच रोपनी जग्गामा सात करोड रुपियाँ लागतमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभियान
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आगामी चार वर्षभित्र २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राजधानीमा साउन ७ देखि १० गतेसम्म सञ्चालित जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले सो घोषणा गरेको हो । महाधिवेशनले वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिक गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिनेछ र यसका लागि अहिलेबाटै अभियान सञ्चालन गर्ने जनाएको छ ।
आयात घटाउन उच्चस्तरीय समिति
बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न सुझाव दिनेगरी सरकारले उच्चस्तरीय सुझाव तथा अध्ययन समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा गठन हुने सो समितिले आयात घटाउन सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्नेछ । मन्त्रिपरिषद्को सोमबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
अर्गानिक मलको प्रेरणाको स्रोत सन्तोष
रासायनिक मल प्रयोगले मात्र बढी उत्पादन दिने सोचाइलाई गलत साबित गरेको छ । रासायनिक मलको वैकल्पिक अर्गानिक मल बनाएर प्रयोग गरिरहनुभएको रुपनी गाउँपालिकाका सन्तोषकुमार यादवलाई उत्पादन पनि अत्यधिक भइरहेको छ । उहाँ अर्गानिक मल प्रयोग र उत्पादनका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
पचास अर्ब रुपियाँको चामल र मकै आयात
कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।
रुग्ण उद्योग अध्ययन गरिने
सरकारले देशभरका नौवटा रुग्ण उद्योग सञ्चालनमा ल्याउन आवश्यक अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनका लागि अध्ययन सँगसँगै कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । आपूर्ति मन्त्रालयलका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा रुग्ण उद्योग अध्ययन तथा सञ्चालन कार्यविधि समिति गठन गरिएको छ ।