लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सयले ओरालो लागेर ९४ हजार तीन सय रुपियाँ तोकिएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाउँँदैछन् । हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ । असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने हिन्दू परम्परा छ । यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ । गुरुका लागि वस्त्र, मिष्ठान्न परिकार र फलफूल किन्नेको बजारमा भिड छ । धार्मिक मठमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम आयोजन गरिएका छन् ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले काठमाडौंमा भेटवार्ता गरेका छन् ।