दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । प्रतिष्ठान विज्ञप्ती निकाल्दै हप्तामा छ दिन नै ओपीडी सेवा सञ्चालन गरी सेवा पु-याउने जनाएको हो ।
रेखीराम रानापाल्पा, जेठ २ गते । पाल्पाको माथागढी गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका दुबैजना विजयी भएका छन् । पालिकाको अध्यक्षमा यम चिदीमगर र उपाध्यक्षमा विष्णु माया लुङ्चमगरे निर्वाचित हुनु भएको हो । यसअघि २०७४ सालको निर्वाचनमा काङ्ग्रेसले क्लिन स्वीप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरू विजयी भएका हुन् । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुङ्चेले ५ हजार ८ सय ८२ र काङ्ग्रेसकी विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ ।माथागढीमा रहेका ८ वटा वडामध्ये चार वटामा नेपाली काङ्ग्रेस र चार वटामा एमालेका उम्मेदवारले जितेका छन् । पाल्पामा हालसम्म एमालेले मात्रै माथागढी, पूर्वखोला र तिनाउ गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको छ ।
काठमाडौं, जेठ २ गते । कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ । आइतबार दिउँसो मनमोहन अस्पतालमा उहाँले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो । लामाले फेसबुकमा बाबुछोराको फोटोसहित भावुक स्टाटस लेख्नुभएको छ । “मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरूसँगै भएकोमा आफूलााई भाग्यशाली ठान्दछु । तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि,” लामाले लेख्नुभएको छ ।सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेसमेत लामाले जानकारी दिनुभएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवामा जनता समाजवादीका उम्मेदवार कुञ्जुमा कुमाइ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।उहाँ जिल्लामै पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सोमबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ ।
छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १२ वटा स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । सोमबार मध्याह्न साढे १२ बजेसम्म जिल्लाको १२ वटा स्थानीय तहका ४४ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
काठमाडौं, जेठ २ गते । गायक राज के गोस्वामीले नयाँ गीत 'चाहिँदैन मलाई' सार्वजनिक गर्नुभएको छ । नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो। गीतमा गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतलाई प्रज्वल लामाले संगीत संयोजन गर्नुभएको हो । भिडियो सार्वजनिक गर्दै गायक गोस्वामीले लेख्नुभएको छ, 'संगीत मेरो लागि आत्मसन्तुष्टि हो । एउटा तृप्त हुने कृति प्रस्तुत गर्न पाउँदा आनन्दित छु ।'गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गर्नुभएको हो ।
कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजीत गरी बोगटी अध्यक्षमा विजयी हुनुभएको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो । अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
राधाकृष्ण डुम्रे वालिङ, जेठ २ गते । स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ । कालीगण्डकीमा एमालेले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अध्यक्षका उमेदवार खिम थापाले ६ हजार ७ सय मतसहित बिजयी हुनुभएको हो । थापाले गठबंधनका उमेदवार माया रानालाई पराजित गर्दै बिजयी हुनुभएको हो । उपबिजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोईरालाले निर्वाचित हुनु भएको छ । कोईरालाले ६ हजार २२३ मत ल्याउदा उहाँका प्रतिस्पर्धी गठबंधनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ । उहाँहरुको मतान्तर १ हजार ३९३ रहेको छ । वडा रहेको कालीगण्डकीमा १, ३, ६ मा एमालेकाे र २, ४, ५,७ मा काँग्रेसले जितेको छ ।
भोटराज राईउदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसँगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप्ली, उदयपुरगढी, रौतामाईका विभिन्न वडाको जीतमा विजय उत्सव मनाइदैछ । जनताले पाँचवर्षको विकासको बाटो कोर्नका लागि चुनेको जनप्रतिनिधिको विजयको खुसीयालीमा फुलमाला, अबिरले सजाउने गरेका छन् । हालसम्म २० वटा जति वडाहरुको अन्तिम परिणाम आइसकेको छ । वडा नेतृत्वमा गठबन्धनको अग्रस्थान रहेको छ ।