• १५ वैशाख २०८१, शनिबार

‘स्थायी प्रशिक्षकले खेलाडीबाट शुल्क उठाए’

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १७ गते । म्याग्दीको बेनीमा भएको खेलकुद सम्बन्धी अन्तरक्रियामा खेलकुदका सरकारी स्थायी प्रशिक्षकहरुले खेलाडीहरुबाट शुल्क उठाउने गरेको बताइएको छ ।

अन्तरक्रियाका क्रममा सरकारी तबरबाट खेलाडीलाई प्रशिक्षण गर्ने भनेर तलब भत्ता खाने प्रशिक्षकले नै खेलाडीहरुबाट नियमित रुपमा शुल्क उठाउने गरेको खुलेको हो ।

गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा रहेका स्थायी प्रशिक्षकले खेलाडीबाट मासिक रुपमा शुल्क उठाउनुका साथै खेलाडीले लगाउने पोसाकको समेत ब्यापार गर्ने गरेको खुलेको प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो । शर्माले भन्नुभयो–‘‘अहिले सम्म खेलाडीबाट पैसा उठाएको भन्ने सुने र त्यस्ता गतिबिधि तुरुन्त रोक्न निर्देशन दिएको छु ।’’ खेलाडी उत्पादन गर्ने भनेरै सरकारी जागिर खाएकाहरुले नै खेलाडीलाई पैसा लिनु गलत हो त्यसैले त्यस्ता गतिबिधि बिधि र पद्धती भन्दा बाहिरको हो, यस्ता गतिबिधि पुनः दोहोरीएमा उचित कार्वाही हुन्छ–शर्माले भन्नुभयो ।

प्रदेश भित्रकै प्रशिक्षक तथा रेफ्रीले मौका पाउनु पर्छ भन्दै उहाँले भन्नुभयो–‘‘म्याग्दीका कुनै खेल संघका अध्यक्ष नै गाउँमा सिटि फुक्दै प्रशिक्षक तथा रेफ्री बन्दै हिडेको थाहा पाएँ, त्यो गलत हो ।’ अरुलाई पनि मौका दिनु पर्छ । खेल संघका अध्यक्ष नै सबै गर्ने हो भने अरुले कसरी मौका पाउने र कहिले उहाँले प्रश्न गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा म्याग्दीका विभिन्न खेलकुद संघका पदाधिकारीहरुले आ–आफ्नो बिचार राख्नु भएको थियो । उसु संघ, कराँते संघ, कबड्डी संघ, भलिबल संघ, सारिरिक शुगठन, एथलेटिक्स संघलगायतका खेल संघका पदाधिकारीहरुले सरकारी स्थायी प्रशिक्षकहरुले खेलाडी उत्पादन गर्ने भन्दा पनि खेलाडीहरुलाई नै बढी मानसिक यातना दिने गरेको आरोप लगाएका थिए ।

कबड्डी संघका अध्यक्ष राजकुमार परियारले प्रदेशमा हुने खेलको जानकारी अन्तीम समयमा आउने हुँदा खेलाडी लिएर जाने र नतिजा ल्याउने अपेक्षा पनि मुस्कील हुने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो गएको राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी कबड्डी टिम प्रदेश च्याम्पीयन त भयो तर २ जना मात्रै खेलाडी राष्ट्रियका लागि प्रदेशले छनोट गरेर म्याग्दीलाई अन्याय ग¥यो ।

म्याग्दीमा स्थायी प्रशिक्षक तीन दशकदेखि कार्यरत रहेको भए पनि गएको नवौं राष्ट्रिय खेलकुदमा मात्रै २ जना खेलाडी तेक्वान्दोमा सहभागी भएका थिए । त्यस्तै भोलिन्टीयर कोचले प्रशिक्षण गर्दै आएको उसुमा ४ जनाले राष्ट्रिय खेलकुदमा सहभागीता जनाएका थिए ।

स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण गरेका खेलकुदमा खेलाडीको स्तर राम्रो भएको र स्थायी प्रशिक्षक भएकै खेलमा खेलाडीहरुको सहभागिता पनि करिब शुन्य हुनु दुर्भाग्य रहेको प्रदेश खेलकुद परिषद्का सदस्य केशब पाठकले बताउनुभयो ।

प्रदेश खेलकुदकी सदस्य कराँते खेलाडी तथा प्रशिक्षक समेत भै सकेकी चन्द्रा घलेले प्रदेश स्तरीय खेलकुदमा केन्द्रीकृतहरुले गर्ने व्यवहार राम्रो नभएको बताउनुभयो । जितेका खेलाडीलाई हराउने सम्मको गतिबिधि हुँदै गर्दा पनि जिल्लाबाट गएका खेलाडीहरु उजुरी गर्न सम्म नसक्ने वातावरण हुने गरेको उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्री, पर्वतका अध्यक्ष हर्कमान गुरुङ लगायतले बोल्नु भएको थियो ।