• १५ वैशाख २०८१, शनिबार

ओझेलमा परेको प्राकृतिक छ्योतछ्योत झरना

blog

मनमोहक छ्योतछ्योत झरना । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, साउन ८ गते । दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका– ९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल ) झरना ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।

चट्टानयुक्त पहाडको फेदमा तामाकोसी नदीमा चुचुरोबाट खसेको यो झरना र तलको प्रवाहित नदीको सौन्दर्यमा सजिलै रमाउन सकिने यो स्थलमा पर्यटकीय चहलपहल आउन नसक्दा स्थानीय चिन्तित हुनुपरेको स्थानीय  टेकमान तामाङले बताउनु भयो । 

सिँगटी–लामाबगर सडक खण्ड अन्तर्गतको सडक छेउमा खसेको यो झरनाको पानी करिब सय मिटर बगेर तामाकोसी नदीमा मिसिएको छ । सडकमा गुड्ने सयौँ सवारी साधन झरनाको पानीको चिसो स्पर्शले धेरथोर भिजेर जान्छन् । शीतलता र आनन्द लिने यस्तो महत्त्वपूर्ण झरनालाई उजागर गर्न नसक्नु दुःखको कुरा हो स्थानीय पहलमान तामाङले गुनासो गर्नुभयो । 

झरनासँगको सामीप्यमा मित्रताको साइनो गाँसेर फोटो खिच्दै, टिकटक भिडिओ बनाउने सम्भावना रहेका छन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले टाढा टाढाबाट पनि आउँथे होलान् । उनीहरू झरनाको अनुपम र मनोरम सौन्दर्य देखेर लट्ठै हुन्थे होला । यसो नहुनुमा आँगनको सरकारले पनि वास्ता नगरेको हो कि ? पालिकामा यसको बारे कहीँ कतै लिपिबद्ध पनि छैन । 

पैदल मार्गसमेत राम्रो नहुँदा कतिपय झरनामा पुग्नै कठिन हुन्छ । घना वनजङ्गल र भिरपाखा छिचोलेर सकसले पुग्नुपर्ने हुन्छ । यो झरना जिल्लाकै नमुना झरना हो । यहाँ पुग्न कुनै कठिनाइ बेहोर्नुपर्दैन । सवारी साधनमार्फत जो सुकै व्यक्ति पनि सहजै यहाँ पुग्न सक्छ । 

उत्तरी क्षेत्रको मुख्य बजार सिँगटी नजिकै रहेको यो झरनामा पुग्न सिँगटीबाट आधा घण्टा लाग्छ ।  झरनामा नियमित पर्यटक आउने वातावरणका लागि प्रचारप्रसारलाई व्यापक बनाउन लागिएको वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो । 

प्राकृतिक रूपमा रहेको झरना अद्भुत र रमणीय भएको बताउँदै वडाध्यक्ष शेर्पाले चट्टानबाट झर्ने झरनामा कुनै जोखिम नरहेकाले सडक नजिक झर्ने झरनाले सौन्दर्य बढाएको छ । कतिपयलाई लाग्न सक्छ पहिरो जान्छ ! तर ढुङ्गैढुङ्गा भएकोले त्यस्तो कुनै जोखिम छैन । पर्यटक तथा यात्रुले कुनै डर मान्नुपर्दैन ढुक्कले झरना अवलोकन गर्नुका साथै ढुक्कले यात्रा गर्दा हुन्छ । वर्षाको बेला झरनामा पानीको मात्रा बढ्छ । त्यसैले अहिले झरना मनमोहक भएको छ । 

वडाध्यक्ष शेर्पाले भन्नुभयो, यो झरना समुद्र सतहदेखि करिब १४ सय मिटर माथि रहेका सेमर्मु, घट्टेखोलालगायत दर्जनौँ सान साना खोल्साबाट खसेको छ । हात्तीको सुँड झैँ देखिने यसलाई शेर्पा भाषामा हात्ती जुङ भनिन्छ । वडामा यसलाई लिपिबद्ध गरेर राख्न पनि लागिएको छ । पालिका, प्रदेश र सङ्घलाई आग्रह गरी यसको विकास तथा विस्तारमा लाग्ने सोच बनेको छ ।