• १५ वैशाख २०८१, शनिबार

हिंसामा पर्ने पुरुषको सङ्ख्या बर्सेनि बढ्दै

blog

साङ्केतिक तस्बिर ।

बिन्दु थापा
पाल्पा, साउन ३ गते ।
वैदेशिक रोजगारीमा गएका पुरुष हिंसामा परेको कुरा फाट्टफुट्ट बाहिर आए पनि प्रायः पुरुष घरेलु हिंसामा परेको कुरा त्यति बाहिर आउँदैन जति महिलाको आउँछ । तर पछिल्लो समयमा श्रीमती, परिवारबाट पीडामा परेका पुरुषहरु खुल्न थालेका छन् । पितृसत्तावादी समाजमा महिलालाई यो विषयमा बोल्न जति सजिलो छ पुरुषलाई छैन । घरभित्र सहनै नसक्ने पीडा भए पनि आफूमाथि भएको अत्याचार बाहिर ल्याउन पुरुषलाई यही सोचले रोक्छ । घरभित्र श्रीमती, आमाबुबा, दिदीबहिनी वा जोसुकैबाट पुरुषमाथि हिंसा हुन सक्छ तर यो कुरा कतिपयलाई सामान्य जस्तै लाग्न सक्छ ।

पल्पाका ३० वर्षीय सुरेश (नाम परिवर्तित) वैदेशिक रोजगारीमा गएको पाँच वर्षमा घर फर्कनुभयो । घर फर्केको एक–दुई महिना श्रीमतीसँग राम्रै चलेको थियो । दुई महिना बितिसकेपछि घरमा सामान्य कुरामा पनि झगडा हुन थाल्यो । विवाद बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयमा जानुभयो । श्रीमान श्रीमती दुवै मिल्न नसक्ने भएपछि अदालतको प्रक्रियामा ग सम्बन्ध विच्छेद गर्नुभयो ।

त्यस्तै, पाल्पा १ का रामबहादुर रानामगर (नाम परिवर्तित) तीन वर्षको वैदेशिक रोजगारबाट घर फर्कीनुभयो । एउटा गैरसरकारी संस्थामा आबद्ध उहाँकी श्रीमतीको तनावले शान्तिपूर्वक बाँच्न नसक्ने अवस्थामा पुगेको बताउनुहुँदै जिल्ला प्रहरी कार्यालय पाल्पामा आउनुभयो । घर परिवारसँग धेरै समय बिताएको, मोबाइल धेरै हेरेर बस्ने कुराले घरमा किचकिच सुरुभयो ।  विभिन्न शङ्का उपशङ्का गर्न थाल्नुभयो । जति सम्झाउँदा पनि नमानेपछि बाध्य भएर कानुनी प्रक्रिया अपनाउन पर्यो ।

वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि रामबहादुर जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् । पुरुषले आफूमाथि भएको हिंसा सहनुको सबैभन्दा ठूलो कारण सामाजिक संरचना रहेको अधिकारकर्मीहरू बताउँछन् ।

“घरमा आमाबुबा र भाइहरुलाई पैसा दिँदा गाली गर्छे, अब त हुँदाहुँदै एटीएम र बैंकको चेक पनि उसकै हातमा छ ।” राम बहादुरले भन्नुभयो, “मलाई त के गर्नु, के नगर्नु भएको छ । सम्बन्ध विच्छेद गरौं न त भन्दा पनि नमान्ने, सँगै बस्दा पनि बस्नै मुश्किल भइसक्यो । उसले गर्न खोजेको के हो मैले त बुझ्नै सकेको छैन ।”

उहाँ थप्दै भन्नुहुन्छ, “श्रीमतीले मलाई यस्तो गर्छे भनेर कसलाई सुनाउनु, साथीभाइ, आफन्तसँग पनि भन्न अप्ठ्यारो लाग्छ, १५ दिन अगाडि पनि ठूलो झगडा भयो यसैले उजुरी दिन आएको हो, मलाई त मानसिक समस्या नै भइसक्यो ।”

अधिवक्ता तथा अधिकारकर्मी मीना जिसी कार्कीले पुरुषले आफूमाथि भएको हिंसा सहनुको सबैभन्दा ठूलो कारण सामाजिक संरचना रहेको बताउनुहुन्छ  । कार्कीका अनुसार पछिल्लो समयमा अंशबण्डा गर्ने र सम्बन्धविच्छेद गर्न आउने पुरुषको सङ्ख्यामा वृद्धि भएको छ । सामाजिक संरचना नै पुरुषले ठूलो स्वर गरेर रुन हुँदैन, घरभित्रका कुरा अरूलाई भन्नुहुँदैन भन्ने छ । जसका कारण सुरेस र राम जस्ता धेरै पुरुष हिंसा सहेर बसिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क अनुसार पुरुषहरू घरेलु हिंसाबारे बोल्न थालेको देखाएको छ । २०७८।०७९ को तथ्याङ्क अनुसार ११ जना पुरुषले घरेलु हिंसाको उजुरी दिएका थिए । ०७९/८० को असार १७ गतेसम्मको तथ्याङ्क अनुसार १७ जना पुरुषले उजुरी दिएका छन् । तथ्याङ्क हेर्दा हिंसामा पर्ने पुरुषको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७८/७९ मा घरेलु हिंसामा ८१, ठाडो उजुरी ३३ र २०७९/०८० मा घरेलु हिंसामा ९३, ठाडो ३९ जनाको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले आजभोलि पुरुषहरू पनि आफूमाथि भएको हिंसाबारे उजुरी दिन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरुषमाथि पनि हिंसा हुन्छ र भन्ने समाज छ तर पुरुषमाथि हिंसा भएका धेरै घटना सुनिन्छन् । कतिपयले हिंसा सहेर बसे पनि पछिल्लो समय उजुरी दिनेको सङ्ख्या बढ्दै गएको छ ।” अनुसार उजुरी दिने सबैभन्दा बढी पुरुष वैदेशिक रोजगारीका क्रममा गएकाहरू छन् ।

प्रमुख शर्माले भन्नुभयो, “खाइनखा विदेशमा परिश्रम गरेकाहरू घर फर्कंदा न पैसा हातमा हुन्छ न श्रीमती । छोराछोरीको हालत पनि बिजोग भएको हुन्छ । अहिले अधिकांश पुरुष यस्तै समस्या लिएर न्यायको लागि आउनुहुन्छ ।”

अधिकारकर्मी रिमा बिसीले पुरुषमाथि यस्ता हिंसा पहिले पनि हुने गरेको तर न्यायका लागि बाहिर नआउँदा थाहा नपाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लैङ्गिक हिंसा महिलालाई मात्र हुन्छ भन्ने होइन् । महिला, पुरुष, तेस्रोलिङ्गी सबैलाई भइरहेकै हुन्छ । पछिल्लो समय पुरुष पनि हिंसाका विरुद्ध उभिएकाले घटना बाहिर आउन थालेका हुन्, जुन राम्रो पक्ष हो ।”