• १५ वैशाख २०८१, शनिबार

‘बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरियो’

blog

सांसद राजकिशोर यादव ।

काठमाडौं, जेठ ३२ गते । सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित रूपमा नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,“ बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ ।  मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेशलाई किन उपेक्षा र विभेद गरिएको हो ?”

छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताउनुभयो । 

“बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षारोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि  मन्त्रालय र विभागमा निवेदन  दिएको थिए । तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतीक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ”, उहाँले भन्नुभयो, “कसको सुझावमा आउँछ बजेट ? यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?” रासस