• १५ वैशाख २०८१, शनिबार

सुनथरालीमा परीक्षण उडानमै अलमल

blog

रजनी योगी

सुर्खेत, जेठ २९ गते ।  निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान हुन सकेको छैन। वैशाखमै परीक्षण उडान गर्ने तयारीसाथ विमानस्थलको निर्माण सम्पन्न गरिएको थियो।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणका सम्पूर्ण कार्य सकिएको छ। यद्यपि विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको छ। उहाँका अनुसार नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान गर्न ढिलाइ गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगममा बुझ्दा चित्तबुझ्दो जवाफ नआएको अध्यक्ष विष्टले बताउनुभयो।

वैशाख १ गते गर्ने भनिएको परीक्षण उडान असारमा गर्ने तयारी गरिएको बताइएको छ। कालीकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थलमा असारभित्रै परीक्षण उडान गरिने बताउनुभयो। 

उहाँले नियमित उडान हुने गरी नै परीक्षण उडान गरिने जानकारी दिनुभयो। त्यसअघि विमानस्थल रहेको ठाउँमा नागरिकको सहज पहुँच हुने गरी केही पूर्वाधार निर्माण गर्नुपर्ने शाहीको भनाइ छ। नियमित उडान हुने गरी सबै पूर्वाधार तयार गरेर मात्रै परीक्षण उडान गर्नु उपयुक्त हुने शाहीले बताउनुभयो।

प्रदेश सभा सदस्य दुर्गबहादुर रावतले असारसम्ममा परीक्षण उडान गर्ने गरी समन्वय भइरहेको बताउनुभयो। नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले वैशाख पहिलो सातामा पूर्वाधार निर्माणको काम नसकिएकाले उडान गर्न नसकिएको जानकारी दिनुभयो। विमानस्थलको सम्पूर्ण काम सम्पन्न भए परीक्षण उडान गर्न सकिने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “वैशाख पहिलो साता विमानस्थल पूर्वतयारीका काम सकिएका थिएनन्। अहिले यसबारे कार्यालयमा नयाँ जानकारी आएको छैन। प्राविधिक टिमसँग बसेर छलफल गर्छौं।”

विमानस्थल निर्माणमा खटिएका आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले परीक्षण उडानका लागि प्राविधिक समस्या नरहेको बताउनुभयो। पूर्वाधार निर्माण सकिएको प्रतिवेदन सम्बन्धित ठाउँमा बुझाइसकिएको समेत श्रेष्ठले बताउनुभयो। 

नरहरिनाथ गाउँपालिका–१, कोटबाडामा विमानस्थल निर्माण गरिएको छ। माघ ११ गते विमानस्थलको मुख्य काम सकिएको थियो। आयोजना प्रमुख श्रेष्ठका अनुसार ६४० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग तयार भएको छ। ५२५ वर्गमिटरमा धावनमार्गको टर्निङ प्याड निर्माण गरिएको छ। ट्याक्सी वेको लम्बाइ २५ मिटर र चौडाइ २० मिटर छ। ७० मिटर लम्बाइ र ३० मिटर चौडाइमा विमानको पार्किङ क्षेत्र बनाइएको छ। विमानस्थलमा दुवैतर्फबाट जहाज अवतरण गर्न सक्ने गरी निर्माण गरिएको छ। १४ करोड ९३ लाख पाँच हजार दुई सय ३० रुपियाँ लागतमा निर्माण सम्पन्न भएको बताइन्छ। 

२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो। स्थानीय नागरिकको पहलमा त्यति बेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो। त्यसको छ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो। ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ।