आरुबारीमा फुलेका विकलका सपना


दीपक श्रेष्ठ

‘दाइ, आरुबारी कता हो ?’
पासाङ ल्हामु शेर्पाको शालिकलाई दाहिने पारेर चुच्चेपाटीबाट अगाडि बढेपछि सोध्दैखोज्दै आरुबारी पुगेँ । ‘आरुबारी’ भन्नेबित्तिकै मान्छेहरूले रमेश विकल सम्झँदारहेछन् । अनि रमेश विकल भन्नासाथ ‘अविरल बग्दछ इन्द्रावती’ बुझ्दारहेछन् । साँच्चै, रमेश विकलको अर्को नाम पो रहेछ– आरुबारी ।
‘रमेश विकल प्रतिष्ठान कता हो ?’ आरुबारी मेडिकलमा रोकिएर सोधेँ ।
‘थोरै अगाडि जानुस्, घुम्ती कटेपछि सूचना पाटी देख्नुहुन्छ । ’
त्यसपछि विकल प्रतिष्ठानको स्थायी ठेगाना कसैलाई सोध्नुपरेन । बुधबारको बिहान पर्खिरहनुभएको थियो, विजय चालिसे । जो, नेपाली पत्रकारिता, साहित्य र बालसाहित्यको शब्दकोशमा धेरै खोजिने नाम हो ।
रमेश विकल साहित्य प्रतिष्ठान, जुन भवनभित्र विकललाई खोज्न र बुझ्न सकिन्छ । उहाँको व्यक्तित्वका विविध पाटोलाई केलाउन सकिन्छ । सङ्ग्रहालयभित्र छिर्दै गर्दा वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसेले भन्नुभयो, “यो बाबाको इच्छा र परिवारको सहयोगले ठडिएको हो । राज्यको लगानीले यो स्वरूप दिएको छ । ”bikal
नेपाली साहित्यमा दुर्लभ घटना भन्नुपर्छ, जुन प्रतिष्ठान साहित्यकारकै जीवनकालमा स्थापना भयो । अनि आफ्ना सम्पूर्ण साहित्यिक कृति, त्यसबापत प्राप्त हुने राजस्व र घरसमेत प्रतिष्ठानलाई लिखित रूपमा सुम्पिनुभयो । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कित्ता नम्बर ४९ मा दुःख गरेर पाँच आनामा बनाएको घर प्रतिष्ठानलाई दिनुभयो । विकलले २०६३ सालमा रमेश विकल साहित्य प्रतिष्ठान स्थापना गर्नुभएको थियो । ०६५ सालमा विकलको निधनपछि विधिवत् रूपमा २०६७ सालमा परिवारबाट प्रतिष्ठानलाई सो घर–जग्गा हस्तान्तरण भएको थियो । भुइँचालोले त्यो घर भत्किएपछि सरकारी सहयोगमा अढाइतले भवन निर्माण भएको छ । त्यो भवनभित्रको एउटा कोठामा पेन्टिङ गर्दागर्दै अपुरो छाडेका दुई क्यानभास भेटेँ । आश्चर्यमा परेँ । ‘के विकल कुशल चित्रकार पनि थिए ?’
‘ऊ यी भित्तामा टाँगिएका चित्रकला सबै बाबाले नै बनाउनुभएको हो,’ चालिसेले बताउनुभयो । उहाँ चित्रकारिताचाहिँ रवि चालिसेको नामबाट गर्नुहुन्थ्यो । रवि अर्थात् रमेश विकल ।
सिसाको ‘सोकेस’ मा सजाइएको थियो, पानी रङका असरल्ल ट्युब, ब्रस, प्यालेट अनि विकलको मोटो चश्मा । छेउमै थियो, ठडिएको इजोलमा राखिएको अधुरो क्यानभास । प्रतिष्ठानका महासचिव चालिसेले भन्नुभयो, “चित्रकलामात्र होइन, बाबाले माटो र काष्ठकलाको काम पनि गर्नुभयो । तर, ती अहिले हामीसँग उपलब्ध छैनन् । ”
उहाँका अनुसार, २०७१ सालमा रविका ५५ वटा चित्रकलाको ‘हिडेन ट्यालेन्ट’ एकल प्रदर्शनीसमेत गरिएको थियो । ती सबै चित्रकला सङ्ग्रहालयमा सजाइएका छन् । मुहारचित्र र भूदृश्यलाई विकलले क्यानभासमा उतारेको पाइन्छ । उहाँले जीवनकालमा एक सयजति चित्रकला बताउनुभएको महासचिव चालिसेले जानकारी दिनुभयो । विकल कलाकारका रूपमा मात्र होइन, प्रेरणा स्रोतका रूपमा पनि देखिनुभएको छ । वरिष्ठ कलाकार मनुजबाबु मिश्रले २०७१ को विकल स्मारिकामा भन्नुभएको छ, “उहाँ (विकल) मेरो कलाको पहिलो गुरु हो । मैले कला क्षेत्रमा प्राथमिक प्रेरणा उहाँबाटै पाएको हुँ, उहाँबाटै प्रेरित भएर म कलाकार भएको हुँ । ’ biakal 1
छेउमै मैन निर्मित विकलको प्रतिरूप । बाँसुरी, भायलिन, तबला र हार्मोनियम । विकलमा सङ्गीतप्रति गहिरो रुचि थियो । साहित्यकार चालिसेका अनुसार, विकल सङ्गीतमा रमाउनुहुन्थ्यो । ग्राम निर्माण बन्धु मण्डल क्लबबाट सरदार भक्ति थापा, दानवीर कर्णलगायत चारवटा नाटक लेखन, निर्देशन र अभिनयसमेत विकलले गर्नुभएको थियो । अर्को कोठामा थियो, पुस्तकालय । जहाँ विकलका सम्पूर्ण साहित्य अध्ययन गर्न सकिन्छ । शिक्षा तथा सामाजिक सेवाका साथै कला, साहित्य, संस्कृति, सङ्गीतका विविध क्षेत्रमा योगदान पु¥याउनुभएका विकलका एक दर्जनभन्दा बढी कृति मरणोपरान्त प्रकाशित भइसकेको छ । केही प्रकाशनको तयारीमा समेत रहेको महासचिव चालिसेले जानकारी दिनुभयो ।
पहिलो तलामा विकलको निजी कोठा छ । उहाँले प्रयोग गरेको खाट, ओढ्ने, ओछ्याउने, थाल, कचौरा र एउटा बूढो हुक्का । अनि भित्तामा झुन्ड्याइएका छन्, विकलले बनाउनुभएको परिवार र पितापुर्खाका पोट्रेट । उहाँका अनुसार, विकलले अधिकांश साहित्यिक रचना सङ्ग्रहालय रहेको घरमा नै बसेर गर्नुभयो । त्यसैले यो घरलाई पवित्र सिर्जना सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको हो । विकलका साहित्यिक रचनाहरूको खोजी र प्रकाशन गर्ने कार्यसमेत जारी राखिएको जानकारी दिँदै महासचिव चालिसेले भन्नुभयो, “सङ्ग्रहालयमा विकलले प्रयोग गरेका सामान, रचना, सिर्जनाको खोजी गरिराखिएको छ । यसको अध्ययन र अनुसन्धान गर्न चाहनेले सङ्ग्रहालयमा जुनसुकै बेला आएर सेवा लिन सक्छ । ”
सङ्ग्रहालयको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने र साहित्यिक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनुपर्ने उहाँको धारणा छ । २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ कथा प्रकाशन गरी सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका विकलको छ दशक लामो साहित्यिक यात्राका रचना अध्ययन, उहाँका कृतिमाथि बनेका श्रव्य दृश्य सामग्री र साहित्यसम्बन्धी विचारलाई श्रव्य दृश्यको माध्यमबाट हेर्ने सुविधासमेत सङ्ग्रहालयमा छ ।
सङ्ग्रहालय घुम्दाघुम्दै दुई घण्टा बितेछ । कौसीमा निस्कँदै गर्दा साहित्यकार चालिसेले योजना सुनाउनुभयो, “यहाँ ट्रस्ट हालेर अवलोकनकर्तालाई आरामस्थल बनाउने । यहाँबाट आरुबारीको रमाइलो दृश्य पनि देख्न सकिन्छ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds