• १५ वैशाख २०८१, शनिबार

एक हप्ताभित्र वीरको सेवामा सुधार गर्न नेतृत्वलाई मन्त्रीको निर्देशन

blog

वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, जेठ १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ । शुक्रबार बिहान बस्नेतले अस्पतालको निरीक्षण गर्दै एक हप्ताभित्र बिरामीहरूले महसुस हुने गरी सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ ।’’

सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाइ छ ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउनु भएको थियो ।

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आइसियु, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रिक, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्त्वपूर्ण विभागहरूको निरीक्षण गर्नुभएको थियो । 

टिकट काउण्डरको भीड कम गर्न र सेवा सहज बनाउन अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो । यसैगरी, अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिनुभएको छ । 

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको आइसियु बेड एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आइसियु बेड नपाएर भतारिनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउँदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाँडो आइसियु सञ्चालन गर्नुपर्‍यो ।’’

देशभरि मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दै गइरहेकाले डाइलासिस गराउन आवश्यक पर्ने बेड सङ्ख्या थप्न, अस्पतालको सरसफाइमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको सङ्ख्या थप्न पनि मन्त्रीले निर्देशन दिनुभयो ।

वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिनुभयो ।  

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘सुरुमा हामी चिकित्सकहरूलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौँ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ ।’’

उपकुलपति प्रा.डा.भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरी परिवर्तन गरिने बताउनुभयो ।